एचए, सिएमए र ल्याब समूहले थाले आन्दोलन

जनकपुरधाम, २६ बैशाख । स्वास्थ्य क्षेत्रमा नयाँ स्थायी दरबन्दी थप गरिए पनि एचए, सिएमए र ल्याबतर्फ कुनै दरबन्दी नसमेटिएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् ।
नेपाल सरकारले हालै स्वास्थ्य क्षेत्रमा ९ सय ७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव स्वीकृत गरेपछि आफूहरूलाई योजनाबद्ध रूपमा बेवास्ता गरिएको आरोप लगाउँदै स्वास्थ्यकर्मीहरूले जनकपुरधामको जनकचोकमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले नेपाल सरकार तथा स्वास्थ्यमन्त्रीको पुतला दहनसमेत गरेका थिए ।
आन्दोलनमा सहभागी स्वास्थ्यकर्मी नवेश अधिकारीले ३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा दरबन्दी थपिनु सकारात्मक विषय भए पनि एचए, सिएमए र ल्याब समूहलाई पूर्ण रूपमा छुटाइनु दुःखद रहेको बताए ।
उनले सरकार मेडिकल माफियाको प्रभावमा परेर यस्तो निर्णय गरेको आरोप लगाउँदै यसविरुद्ध आन्दोलन गर्न बाध्य भएको बताए ।
उनले सरकारले निर्णय सच्याएर आफूहरूको माग सम्बोधन नगरे बैशाख २८ गते काठमाडौं केन्द्रित कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए ।
सरकारले दुई दिनअघि मात्रै स्वास्थ्य क्षेत्रमा नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञ दरबन्दी थप्ने प्रस्ताव अघि सारेको थियो ।
उक्त प्रस्तावलाई अर्थ मन्त्रालयले बुधबार स्वीकृति दिएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


