जनकपुरधाम, २५ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई विद्यार्थी भर्ना तथा अध्ययन-अध्यापनका नाममा कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जारी गरेको सूचनामा शैक्षिक सत्र २०८३ सुरु भएसँगै विद्यार्थी भर्ना प्रक्रिया अघि बढिरहेको अवस्थामा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ र नियमावली–२०७७ अनुसार निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन गर्न आग्रह गरिएको हो ।

शाखा प्रमुख अन्जु पाण्डेयद्वारा हस्ताक्षरित पत्रमा विद्यालयहरूले विद्यार्थीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै शुल्क असुल्न नपाइने उल्लेख गरिएको छ ।

साथै, अभिभावक वा अन्य व्यक्तिले स्वेच्छाले विद्यालयलाई आर्थिक सहयोग गर्न चाहेमा विद्यालयको बैंक खातामार्फत मात्रै सहयोग लिनुपर्ने व्यवस्था गरिएको छ ।

उपमहानगरपालिकाले प्राप्त सहयोगको स्पष्ट अभिलेख राख्न, सहयोगदाताको विवरण नियमित सार्वजनिक गर्न तथा सम्बन्धित वडा कार्यालय र उपमहानगरपालिकालाई जानकारी गराउन पनि विद्यालय प्रशासनलाई निर्देशन दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले यस्तो निर्देशन जारी गरेको जनाएको छ ।