जनकपुरधाम, २५ बैशाख । धनुषाको महेन्द्रनगरमा सुकुम्वासीहरूले जनकपुर–ढल्केवर सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन् ।

शुक्रबार बिहान क्षिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न जारी गरेको सूचनाविरुद्ध उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय सुकुम्वासी परिवारहरूले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट हटाउन खोजिएको भन्दै सडकमा उत्रेर नाराबाजी गरेका थिए । प्रदर्शनका कारण केही समय सडक यातायात प्रभावित बनेको थियो ।

आन्दोलनरत स्थानीयहरूले वैकल्पिक व्यवस्थाविना बस्ती हटाउने प्रयास स्वीकार्य नहुने बताएका छन् ।

उनीहरूले आफूहरूको बसोबासको सुनिश्चितता र उचित व्यवस्थापनको माग गरेका छन् ।

क्षिरेश्वरनाथ नगरपालिकाले भने सार्वजनिक उपयोगका लागि रहेको सरकारी जग्गा अतिक्रमणमुक्त बनाउन सूचना जारी गरिएको जनाएको छ ।

नगरपालिकाले तोकिएको समयभित्र जग्गा खाली नगरे कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ ।

पछिल्लो समय देशभर सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने अभियान तीव्र बनाइएको छ ।

केही समयअघि काठमाडौंका विभिन्न स्थानमा अनधिकृत बस्ती हटाउन डोजर चलाइएको थियो भने अहिले विभिन्न स्थानीय तहहरूले पनि सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरिरहेका छन् ।

सार्वजनिक जग्गा व्यवस्थापनको सरकारी अभियान र दीर्घकालदेखि बसोबास गर्दै आएका सुकुम्वासीहरूको मागबीच विभिन्न स्थानमा तनाव सिर्जना हुन थालेको देखिन्छ ।