जनकपुरधाममा स्मार्ट लाइसेन्स वितरण सुरु, पुरानो लाइसेन्स वा रसिद अनिवार्य

जनकपुरधाम, २५ बैशाख । यातायात व्यवस्था कार्यालय जनकपुरधामले करिब २४ हजार स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्यालयमा प्राप्त भएको जनाएको छ ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै नयाँ, थप श्रेणी तथा नवीकरण गरिएका लाइसेन्स छपाइ भएर आइसकेकाले सम्बन्धित सेवाग्राहीलाई कार्यालयको आधिकारिक फेसबुक पेजमा आफ्नो नाम सुनिश्चित गरेपछि मात्रै लाइसेन्स लिन आउन आग्रह गरेको हो ।
कार्यालयका अनुसार लाइसेन्स वितरण कार्य बिहान ९ः३० बजेदेखि बेलुका ३ बजेसम्म मात्र सञ्चालन हुनेछ ।
भीड व्यवस्थापन तथा सेवाग्राहीको सहजताका लागि फेसबुकमार्फत नाम प्रकाशित गरिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
लाइसेन्स लिन आउँदा सम्बन्धित व्यक्तिले पुरानो सक्कल लाइसेन्स वा सक्कल रसिद अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ ।
पुरानो लाइसेन्स वा रसिद हराएको अवस्थामा भने ट्राफिक कार्यालयको सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कार्यालयले आवश्यक कागजात बिना सेवा उपलब्ध गराउन नसकिने भन्दै सेवाग्राहीलाई निर्धारित प्रक्रिया पालना गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


