पोखरा विमानस्थल प्रकरणमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २४ बैशाख । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार आरोपमा मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार विमानस्थल निर्माणका क्रममा गरिएको ठेक्का सम्झौताविपरीत ठेकेदार कम्पनीलाई अवैध रूपमा राजश्व छुट दिइएको थियो । त्यसबाट राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको दाबी आयोगको छ ।
मुद्दामा तत्कालीन सचिवहरू शंकर अधिकारी, केबल भण्डारी तथा सुरेश आचार्य लगायतलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियारले उक्त प्रकरणमा कुल ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ बिगो दाबी गरेको जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको आर्थिक अनियमितताबारे लामो समयदेखि प्रश्न उठ्दै आएको थियो ।
आयोगले विस्तृत अनुसन्धानपछि मुद्दा दायर गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


