बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्न महोत्तरी प्रशासनको चेतावनी

महोत्तरी, २४ बैशाख । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न नगराउन राजनीतिक दल तथा विभिन्न समूहलाई चेतावनी दिएको छ ।
प्रशासनले सूचना जारी गर्दै आन्दोलन, बन्द, हड्ताल, जुलुस, धर्ना तथा चक्काजामजस्ता गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको हस्ताक्षर रहेको सूचनामा पछिल्लो समय विभिन्न राजनीतिक उद्देश्य पूरा गर्न बालबालिकालाई संगठित गरी सडक प्रदर्शन तथा आन्दोलनमा उतार्ने प्रयास हुन सक्ने भन्दै प्रशासनले चासो व्यक्त गरेको उल्लेख छ ।
प्रशासनका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकालाई राजनीतिक प्रयोजनका लागि प्रयोग गर्नु वा संलग्न गराउनु कानुनविपरीत मानेको छ ।
ऐनको दफा ६६ अनुसार यस्तो कार्य बालबालिकाविरुद्धको कसुर अन्तर्गत पर्ने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले कुनै पनि दल वा समूहलाई आफ्नो स्वार्थका लागि बालबालिकाको भविष्य र मनोविज्ञानमाथि खेलबाड नगर्न सचेत गराएको छ ।
सूचनाको अवज्ञा गर्दै बालबालिकालाई राजनीतिक गतिविधिमा परिचालन गरेको पाइएमा संलग्न व्यक्ति वा पक्षमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


