सांसदहरूको विद्युतीय हाजिरी सुरु हुँदै

काठमाडौं, २३ बैशाख । संघीय संसद सचिवालयले सांसदहरूको उपस्थिति प्रणालीलाई आधुनिक बनाउँदै विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ ।
यसका लागि बिहीबारदेखि सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु गरिने भएको छ ।
सचिवालयले बुधबार सूचना जारी गर्दै विद्युतीय हाजिरी प्रयोजनका लागि आवश्यक बायोमेट्रिक विवरण उपलब्ध गराउन सबै सांसदहरूलाई आह्वान गरेको हो ।
विवरण संकलनका क्रममा औपचारिक फोटोसमेत लिइने भएकाले संसद्को लोगोयुक्त औपचारिक पोशाकमा उपस्थित हुन निर्देशन दिइएको छ ।
संसदीय समितिहरूको कार्यतालिका अनुसार बायोमेट्रिक संकलनका लागि समय र स्थान फरक फरक निर्धारण गरिएको छ ।
बिहीबार बिहान १० बजेदेखि १२ बजेसम्म अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूको विवरण सार्वजनिक लेखा समितिको हलमा संकलन गरिनेछ ।
त्यसैगरी, अर्थ समिति र विधायन व्यवस्थापन समितिका सदस्यहरूलाई अर्थ समितिको हलमा उपस्थित हुन भनिएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका साथै कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूको विवरण पनि बिहीबार दिउँसो २ देखि ४ बजेसम्म सम्बन्धित हलहरूमा संकलन गरिनेछ ।
शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूको विवरण बिहान १० देखि १२ बजेसम्म संकलन गरिनेछ ।
त्यसैगरी, महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई दिउँसो २ देखि ४ बजेसम्म उपस्थित हुन भनिएको छ ।
सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूको बायोमेट्रिक विवरण बैशाख २८ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित हलमा संकलन गरिने सचिवालयले जनाएको छ ।
संसद सचिवालयका अनुसार विद्युतीय हाजिरी प्रणाली लागू भएपछि सांसदहरूको उपस्थितिलाई अझ पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


