जनकपुरधाम, २३ बैशाख । धनुषा जिल्लामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘लागुऔषध सेवनकर्ता खोजी तथा सुधार अभियान २०८३’ सञ्चालन गर्ने विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए ।

कार्यक्रममा सिमानाका आसपासका स्थानीय तहका प्रमुख, वडा अध्यक्षहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले जिल्लामा बढ्दो लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि संयुक्त पहल आवश्यक रहेकोमा जोड दिए ।

छलफलमा विशेष गरी सीमावर्ती क्षेत्रबाट हुने लागुऔषध ओसारपसार नियन्त्रण, जोखिम समूहको पहिचान, सचेतना अभिवृद्धि तथा उपचार र पुनःस्थापनालाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।

प्रहरी र स्थानीय तहबीचको सहकार्यलाई अझ सुदृढ गर्दै अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने सहमतिसमेत कार्यक्रमबाट गरिएको छ ।