जनकपुरधाम, २३ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा कुपोषणको अवस्था पहिचान गर्न ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सञ्चालन गरेको छ ।

‘समयमै पहिचान, सही उपचार कुपोषण मुक्त पुस्ताको आधार’ भन्ने मूल नारासहित सुरु गरिएको यो अभियान बैशाख ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

उपमहानगरपालिका अन्तर्गतका २५ वटै वडामा रहेका २६ वटा स्वास्थ्य संस्थामार्फत बालबालिकाको पोषण अवस्था परीक्षण गरिनेछ ।

अभियानमार्फत बालबालिकामा देखिन सक्ने कुपोषणको समस्या समयमै पहिचान गरी आवश्यक उपचार सेवा सुनिश्चित गर्ने लक्ष्य राखिएको सामाजिक महाशाखाले जनाएको छ ।

स्वास्थ्यकर्मीहरू गाउँ टोलमै पुगेर बालबालिकाको पोषण जाँच गर्ने व्यवस्था मिलाइएको छ ।

उपमहानगरपालिकाले अभिभावकहरूलाई आफ्ना बालबालिकाको पोषण परीक्षण अनिवार्य रूपमा गराउन आग्रह गरेको छ ।

बैशाख ३० गतेसम्म स्वास्थ्यकर्मीहरू समुदायमा पुग्दा बालबालिकालाई जाँच गराउन नछुटाउन अनुरोध गरिएको छ ।

थप जानकारीका लागि नजिकको स्वास्थ्य संस्था वा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गर्न पनि उपमहानगरपालिकाले आग्रह गरेको छ ।