जनकपुरधाम, २३ बैशाख । धनुषाको शहिदनगर नगरपालिकाकी उपप्रमुख सुनिता सिंहले आफ्नो कार्यकक्षमा आधारभूत सुविधा अभाव भएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएकी छन् ।

बुधवार आयोजित नगरपालिकाको १४औँ नगरसभाको हिउँदे अधिवेशनमा बोल्दै उनले नयाँ प्रशासनिक भवनमा आफूलाई विभेद गरिएको आरोप लगाइन् ।

उनका अनुसार नगर प्रमुख तथा अन्य पुरुष कर्मचारीका कार्यकक्षमा ‘अट्याच्ड बाथरुम टॉयलेट’को व्यवस्था भए पनि आफ्नो कार्यकक्षमा भने टॉयलेट र आवश्यक फर्निचर नरहेको गुनासो पोखिन् ।

‘म बस्ने कोठामा न टॉयलेट छ, न टेबुल । महिला भएकै कारण मलाई विभेद गरिएको जस्तो लाग्छ,’ उनले भनिन् ।

उपप्रमुख सिंहले आफ्नो कार्यकक्षको अवस्थाबारे आगन्तुकलेसमेत प्रश्न गर्ने गरेको उल्लेख गर्दै असहज अवस्था भोग्नुपरेको बताइन् ।

‘जो कोही आउनेले टेबुल कहाँ छ भनेर सोध्छन्, म अहिले बनिरहेको छ भनेर जवाफ दिन्छु,’ उनले सुनाइन् ।

यद्यपि, उनले पदभन्दा सेवा महत्वपूर्ण भएको उल्लेख गर्दै आवश्यक परे आफू भुइँमै बसेर पनि काम गर्न तयार रहेको प्रतिक्रिया दिइन् ।

‘मेरो कोठामा टेबुल कुर्सी नभए पनि म काम गर्न सक्छु । बरु अन्यत्र आवश्यक छ भने मेरो कोठाको सामग्री लैजान सकिन्छ,’ उनले थपिन् ।

केही दिनअघि मात्रै शहिदनगर नगरपालिकाको कार्यालय नयाँ निर्माण गरिएको प्रशासनिक भवनमा सरेको हो ।

यसअघि नगरपालिकाले भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको थियो ।