जनकपुरधाम, २३ बैशाख । धनुषाको मिथिला नगरपालिका–७ केमलीपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

बुधबार बिहान करिब ९ बजे स्थानीय ४८ वर्षीय किर्तिमान विक चितुवाको आक्रमणमा परेर घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार घाइते विकको उपचार ढल्केबरस्थित एक निजी स्वास्थ्य संस्थामा भइरहेको छ ।

उनको अवस्था सामान्य रहेको र शरीरको ढाड लगायतका भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष रामबहादुर स्याङ्दनका अनुसार नीलगाई नियन्त्रणका लागि लगाइएको तारजालीमा चितुवा फसेको थियो । सोही जानकारी पाएपछि घटनास्थल पुगेका विकमाथि चितुवाले आक्रमण गरेको हो ।

हाल चितुवा तारजालीमै फसेको अवस्थामा रहेको छ । चितुवाको सुरक्षित उद्धारका लागि वन कार्यालय तथा सुरक्षाकर्मीलाई खबर गरिसकिएको वडा अध्यक्ष स्याङ्दनले जानकारी दिए ।