जनकपुरधाम, २२ बैशाख । जनमत पार्टीले मधेश प्रदेशमा आफ्नो संसदीय दलको नेता परिवर्तन गरेको छ ।

पार्टीले चन्दन कुमार सिंहलाई नयाँ नेताको रूपमा तोक्दै जिम्मेवारी हेरफेर गरेको जनाएको छ ।


पार्टीका राष्ट्रिय अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) द्वारा जारी पत्र अनुसार यो निर्णय आजैदेखि लागू हुने गरी गरिएको हो ।

यसअघि संसदीय दलको नेतृत्वमा रहेका व्यक्तिबारे भने पत्रमा उल्लेख गरिएको छैन ।

निर्णयबारे जानकारी गराउँदै पार्टीले उक्त निर्णयको जानकारी मधेश प्रदेशसभा सचिवालय र पार्टीको प्रदेश संसदीय दललाई समेत गराइसकेको जनाएको छ ।

हालै मधेश प्रदेशको राजनीतिक गतिविधि तीव्र भइरहेका बेला जनमत पार्टीले संसदीय दलको नेतामा गरेको यो परिवर्तनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

पार्टीभित्रको आन्तरिक समीकरण तथा प्रदेशस्तरीय राजनीतिक रणनीतिसँग जोडेर यस निर्णयलाई विश्लेषण गर्न थालिएको छ ।