जनमतपछि जसपा पनि मधेश सरकारबाट बाहिरिँदै

जनकपुरधाम, २२ बैशाख । मधेश प्रदेश सरकार पुनः राजनीतिक संकटतर्फ धकेलिएको छ ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादबीच पार्टीका ९ जना सांसदले सरकारबाट समर्थन फिर्ता लिएका छन् ।
दलका प्रमुख सचेतक चन्दन सिंहका अनुसार नौजना सांसदको हस्ताक्षरसहितको समर्थन फिर्ता पत्र सोमबार राति प्रदेश प्रमुखको कार्यालयमा पठाइएको हो ।
हाल मधेश सरकारमा जनमत पार्टीबाट महेश प्रसाद यादव अर्थमन्त्री र बसन्त कुशवाहा खेलकुद मन्त्रीको जिम्मेवारीमा छन् भने बबिता राउत उपसभामुखको भूमिकामा छन् ।
यता, जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
जसपाले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको र मंगलबार प्रदेश प्रमुखसमक्ष पत्र बुझाउने योजना रहेको स्रोतले जनाएको छ ।
जनमत र जसपा दुवै दलले समर्थन फिर्ता लिएमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।
यससँगै एमालेको समर्थनमा नयाँ सत्ता समीकरण बनाउन तीव्र कसरत सुरु भएको छ ।
गत मंसिर १९ गते कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, नियुक्तिको ६ महिनाभित्रै सरकार ढल्ने संकेत देखिएसँगै मधेश प्रदेशको राजनीति फेरि अस्थिर बन्ने सम्भावना बढेको छ ।


