जनकपुरधाम, २१ बैशाख । मधेश प्रदेश सरकारलाई दिएको समर्थन जनमत पार्टीले औपचारिक रूपमा फिर्ता लिएको छ ।

समर्थन फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो ।

प्रदेश प्रमुख कार्यालयका सचिव नारायण प्रसाद दाहालका अनुसार जनमत पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र प्राप्त भएको हो ।

पत्र ढिलाइ गरी प्राप्त भएकाले औपचारिक विज्ञप्ति भने केही समयपछि सार्वजनिक गरिने उनले जानकारी दिए ।

मधेश प्रदेशसभामा १२ सदस्य रहेको जनमत पार्टी हाल सरकारमा सहभागी हुँदै अर्थ मन्त्रालयसहित दुई मन्त्रालय सम्हाल्दै आएको छ ।

पार्टीबाट महेश यादव अर्थमन्त्री तथा बसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीमा छन् ।

समर्थन फिर्ता लिएको विषयमा जनमतका प्रमुख सचेतक चन्दन सिंहले पुष्टि गरे पनि संसदीय दलका नेता तथा अर्थमन्त्री महेश यादवले भने यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

पछिल्ला केही सातादेखि समर्थन फिर्ताको चर्चा चलिरहे पनि मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकार परिवर्तन नहुने दाबी गर्दै आएका थिए । तर, जनमतको पछिल्लो निर्णयले सरकारको स्थायित्वमाथि प्रश्नचिन्ह खडा गरेको छ ।

यसअघि पनि जनमत पार्टीले आफ्नै नेतृत्वमा रहेको सरकार ढालेर नयाँ सत्ता समीकरण बनाएको अनुभव छ ।

जेनजी आन्दोलनका क्रममा तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरे पनि पछि कार्यान्वयन नगरेपछि जनमतले आफ्नै सरकार ढाल्दै नयाँ गठबन्धनमा सहभागी भएको थियो ।

यता, नेपाली कांग्रेस बाहेकका दलहरूबीच नयाँ सरकार गठनबारे प्रारम्भिक सहमति बनेको स्रोतको दाबी छ ।