चुरे संरक्षणका लागि ‘मेची–महाकाली जनजागरण यात्रा’ सुरु हुँदै

जनकपुरधाम, २१ बैशाख । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालले चुरे क्षेत्रको संरक्षणका लागि देशव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘मेची–महाकाली जनजागरण एवं हस्ताक्षर अभियान यात्रा’ सुरु गर्ने घोषणा गरेको छ ।
अभियान आगामी जेठ १ गतेदेखि औपचारिक रूपमा सुरु हुने जनाइएको छ ।
अभियानका अध्यक्ष सुनिल यादवका अनुसार चुरे क्षेत्रमा बढ्दो अवैध गिट्टी–बालुवा उत्खनन, क्रसर उद्योगको अनियन्त्रित सञ्चालन र वन विनाशका कारण तराई–मधेश क्षेत्रमा मरुभूमीकरणको जोखिम बढ्दै गएको छ ।
यही समस्याप्रति राज्यको ध्यानाकर्षण गराउन र प्रभावकारी नियन्त्रणका लागि दबाब सिर्जना गर्न अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।
अभियानले अवैध उत्खनन नियन्त्रण, अतिक्रमित नदी नालाको संरक्षण, प्रदूषण न्यूनीकरण, वन फँडानी रोकथाम तथा जडीबुटीको अवैध दोहन अन्त्यलाई प्रमुख एजेन्डा बनाएको छ ।
‘प्रकृति जोगाऔँ, भविष्य बचाऔँ’ भन्ने मूल नारासहित सञ्चालन हुने उक्त यात्रामार्फत तराई, पहाड र हिमालबीचको वातावरणीय सन्तुलन जोगाउन राष्ट्रिय एकताको सन्देश प्रवाह गरिने अध्यक्ष यादवले उल्लेख गरे ।
अभियानमा सहभागी हुन उनले विशेषगरी तराई–मधेशका युवा, विद्यार्थी, नयाँ पुस्ता, राजनीतिक दलका कार्यकर्ता, नागरिक समाज तथा सञ्चारकर्मीलाई आह्वान गरेका छन् ।
यसअघि पनि अभियानले सप्तरीदेखि काठमाडौंसम्म पैदल यात्रा गर्नुका साथै माइतीघर मण्डलामा लामो समयसम्म धर्ना दिएर चुरे संरक्षणको विषयलाई राष्ट्रिय बहसमा ल्याएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


