जनकपुरधाम, २१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधामलाई संरक्षित क्षेत्रका रूपमा विकास गर्ने तयारी तीव्र बनाइएको बताएका छन् ।

जनकपुरधाममा निर्माण हुन लागेको पाँचतारे होटलको शिलान्यास कार्यक्रममा बोल्दै सांसद झाले ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउने उद्देश्यसहित आगामी तीन महिनाभित्र जनकपुरधामलाई संरक्षित क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको पहलमा संरक्षित क्षेत्र निर्धारणका लागि आवश्यक नक्सांकनको काम सम्पन्न भइसकेको छ भने उक्त प्रतिवेदन पुरातत्व विभागलाईसमेत बुझाइसकिएको छ ।

अब पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरी मन्त्रिपरिषद्मा प्रतिवेदन पेश गरिने प्रक्रिया अघि बढाइने उनले बताए ।

मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि ६ महिनाभित्र जनकपुरधामलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रस्ताव पठाउने योजना रहेको सांसद झाको भनाइ छ ।

उनले सम्पूर्ण प्रक्रिया पूरा गर्न करिब १ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको जानकारी दिँदै जनकपुरधामका ऐतिहासिक तथा धार्मिक धरोहर संरक्षण बिना शहरको भविष्य सुरक्षित हुन नसक्ने बताए ।

सांसद झाले जनकपुरधामको मौलिकता जोगाउन स्थानीय नागरिकको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै संरक्षण अभियानमा सबैलाई आ–आफ्नो तहबाट योगदान गर्न आह्वान गरे ।