सरकार परिवर्तनको हल्ला निराधार: मुख्यमन्त्री यादव

जनकपुरधाम, २१ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकार परिवर्तनबारे फैलाइएको चर्चा पूर्णतः निराधार रहेको स्पष्ट पारेका छन् ।
पछिल्लो समय सत्तारुढ दलहरूबीच असन्तुष्टि बढेको र सरकार फेरबदल हुन सक्ने चर्चा चलिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले सरकारभित्र कुनै प्रकारको असन्तुष्टी नरहेको दाबी गरे ।
उनले सरकार आफ्नो नियमित गतिमा अघि बढिरहेको र सत्तारुढ दलहरूको पूर्ण सहयोग प्राप्त भइरहेको उल्लेख गरे ।
‘सरकार सञ्चालनमा कुनै अवरोध छैन, सबै दलहरूको साथ र समर्थन रहेको छ,’ उनले भने ।
नेपाली कांग्रेसभित्रै नेतृत्व परिवर्तनको विषय उठिरहेको भन्ने चर्चाबारे आफूलाई कुनै जानकारी नभएको पनि उनले बताए ।
साथै, कांग्रेस सभापति गगन थापाबाट सरकार सञ्चालनका सन्दर्भमा कुनै दबाब वा निर्देशन नआएको स्पष्ट पारे ।
मुख्यमन्त्री यादवले अहिले प्रदेश सरकार बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणमा केन्द्रित रहेको जानकारी दिए ।
उनका अनुसार यही व्यस्तताका बीच सरकार परिवर्तनको हल्ला फैलाउनु मधेश प्रदेशकै लागि दुर्भाग्यपूर्ण विषय हो ।
उनले आफ्नो नेतृत्वमा सरकारले पूरा कार्यकाल सञ्चालन हुने विश्वास व्यक्त गर्दै सत्तारुढ दलहरूको निरन्तर सहयोग रहने दाबी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


