जनकपुरधाम, २१ बैशाख । मधेश प्रदेशको राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।

करिब २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको १२४ कोठा क्षमताको आधुनिक होटल निर्माणका लागि सोमबार भूमि पूजन सम्पन्न गरिएको हो ।

मिथिला हस्पिटालिटी प्रालिद्वारा जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियामा निर्माण हुन लागेको उक्त होटल तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

परियोजनाले जनकपुरधामलाई धार्मिक मात्र नभई ‘वेडिङ डेस्टिनेसन’ (विवाह गन्तव्य) को रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

मिथिला हस्पिटालिटीका अध्यक्ष रामेश्वर साहले होटल निर्माणको काम अब तीव्र गतिमा अघि बढाइने जानकारी दिँदै जनकपुरधामको पर्यटन पूर्वाधार विस्तारमा यस परियोजनाले नयाँ आयाम थप्ने बताए ।

उनका अनुसार होटलमा अत्याधुनिक सुविधा, अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा र ठूलो क्षमताको सम्मेलन तथा विवाह समारोहका लागि हलसमेत रहनेछ ।

यस परियोजनामा ऊर्जा व्यवसायी काजी लामा, व्यवसायी सुदीप चौधरी, ऊर्जाविद् उदयकान्त झा तथा ज्ञानेन्द्र ढुङ्गाना लगायतको संयुक्त लगानी रहने जनाइएको छ ।

भूमि पूजन कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले उक्त परियोजना प्रदेशकै गौरवको विषय भएको उल्लेख गरे ।

उनले निजी क्षेत्रको यस्तो लगानीले आर्थिक गतिविधि चलायमान बनाउने र रोजगारी सिर्जनामा योगदान पुर्‍याउने बताए ।

कार्यक्रममा सहभागी धनुषा–३ का प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधाममा पहिलो पाँचतारे होटल बन्नु सकारात्मक भएको बताउँदै लगानीको वातावरण सुरक्षित बनाउनु सबै सरोकारवालाको साझा जिम्मेवारी भएको धारणा राखे ।

उनले भने, ‘लगानीकर्तालाई चन्दादाता नभई विकासका साझेदारका रूपमा हेर्नुपर्छ । जनकपुरधामको पर्यटन विकासका लागि यस्ता परियोजनाले दीर्घकालीन प्रभाव पार्नेछ ।’

उनले बुद्ध एयरमार्फत जनकपुरधाम–अयोध्या उडानको तयारी भइरहेको जानकारी दिँदै धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्ने प्रयास भइरहेको बताए ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले उपमहानगरपालिकाले पूर्वाधार विकास, सडक सञ्जाल विस्तार तथा लगानीमैत्री वातावरण निर्माणमा प्राथमिकता दिएको बताए ।

‘जनकपुरधामलाई व्यवस्थित, आकर्षक र पर्यटकीय शहरका रूपमा विकास गर्ने हाम्रो दीर्घकालीन योजना छ । पाँचतारे होटलजस्ता परियोजनाले त्यस लक्ष्यलाई मूर्तरूप दिन सहयोग गर्छ,’ उनले भने ।

प्रख्यात उद्योगपति उपेन्द्र महतोले जनकपुरधामको सांस्कृतिक र धार्मिक महत्त्व विश्वमै अनुपम रहेको उल्लेख गर्दै यस्ता संरचनाले त्यसको मूल्य अझ बढाउने धारणा व्यक्त गरे ।

‘जनकपुरधामको मौलिकता यस्तो छ, जुन कुनै देशले ठूलो लगानी गरेर पनि निर्माण गर्न सक्दैन । अब त्यसलाई व्यवस्थापन र प्रवर्द्धन गर्ने समय आएको छ,’ उनले भने ।

पर्यटन, होटल तथा सेवा क्षेत्रमा ठूलो लगानी भित्र्याउने उद्देश्यसहित अघि बढाइएको यस परियोजनाले जनकपुरधामलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरको गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ । साथै, स्थानीय अर्थतन्त्र सुदृढ पार्दै सयौँ रोजगारी सिर्जना हुने विश्वास गरिएको छ ।