जनकपुरधाम, २१ बैशाख । मिथिलाको कला, संस्कृति र सौन्दर्यलाई व्यापक स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘मिस मिथिला नारी सौन्दर्य प्रतियोगिता’ आयोजना हुन लागेको छ ।

कार्यक्रमको आधिकारिक घोषणा आज बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि गरिएको हो ।

काठमाडौंस्थित थर्ड आइ स्टुडियो प्रा.लि.ले आयोजना गर्न लागेको यस प्रतियोगिताले मिथिलाको मौलिकता, पहिचान र परम्परागत सौन्दर्यलाई आधुनिक मञ्चमार्फत उजागर गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रमका संयोजक हरिस जैसवालका अनुसार यो सौन्दर्य प्रतियोगिता मात्र नभई मिथिलाको सांस्कृतिक प्रतिनिधित्व गर्ने राष्ट्रिय परियोजनाका रूपमा अघि बढाइएको हो ।

‘हामी मिथिलाको मौलिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्न चाहन्छौं । सहभागी युवतीहरूलाई प्रतिस्पर्धामा सीमित नराखी उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र भविष्य निर्माणमा पनि विशेष ध्यान दिनेछौं,’ जैसवालले भने ।

प्रतियोगिताको अडिशन जेठ १६ गते जनकपुरधाम र जेठ २३ गते काठमाडौंमा सञ्चालन गरिनेछ भने फाइनल असार २७ गते काठमाडौंमै हुने कार्यक्रम तय गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले इ–सेवामार्फत मात्र १०० रुपैयाँ शुल्क तिरेर अनलाइन फारम भर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा परम्परागत पहिरनलाई प्राथमिकता दिइएको छ । सहभागीहरूले साडी र कुर्ता सुरुवाल मात्र लगाउनुपर्नेछ भने वेस्टर्न ड्रेसलाई पूर्ण रूपमा निषेध गरिएको छ ।

आयोजकका अनुसार यसले मिथिलाको मौलिक पहिरन र संस्कृतिलाई प्रवर्द्धन गर्नेछ ।

प्रतियोगितामा प्रथम हुने विजेताले स्कुटी पुरस्कार प्राप्त गर्नेछिन् भने द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

साथै, उत्कृष्ट प्रतिभालाई विभिन्न राष्ट्रिय परियोजनामा संलग्न गराई उनीहरूको करियर निर्माणमा सहयोग गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

जैसवालले थपे, ‘हामी एउटा कार्यक्रम मात्र नभई प्रतिभाशाली युवतीहरूको दीर्घकालीन विकासका लागि प्लेटफर्म तयार गर्दैछौं । मिथिलाको प्रतिनिधित्व गर्ने अनुहारहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने हाम्रो लक्ष्य हो ।’