जनकपुरधाम, २० बैशाख । नेपाल पत्रकार महासंघ धनुषाले आइतबार विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ ।

‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ नारासहित दिवस मनाइएको हो ।

दिवसको अवसरमा महासंघले जनकपुरधाम नगर क्षेत्रमा प्रभातफेरी आयोजना गरी पदयात्रा गरेको थियो ।

सञ्चारकर्मीहरूको सहभागितामा भएको उक्त कार्यक्रमले प्रेस स्वतन्त्रताको महत्वबारे जनचेतना फैलाउने प्रयास गरेको आयोजकले जनाएको छ ।

प्रभातफेरीपछि आयोजित अन्तरक्रिया कार्यक्रममा ‘प्रेस स्वतन्त्रता र वर्तमान पत्रकारिताको अवस्था’ विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा वक्ताहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक अधिकार भएको उल्लेख गर्दै यसलाई कुण्ठित गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका थिए ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेशका प्रमुख बुद्धनारायण सहनी, महासंघ मधेशका महासचिव शैलेन्द्र महतो, महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

उनीहरूले लोकतन्त्र सुदृढीकरणका लागि स्वतन्त्र र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेकोमा जोड दिएका थिए ।