रास्वपाको नयाँ नियम: उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’अनिवार्य

काठमाडौं, २० बैशाख । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रियामा कडाइ गर्ने निर्णय गरेको छ ।
अब पार्टीबाट उम्मेदवार बन्न चाहने सदस्यहरूले ‘क्यान्डिडेट क्लब’र ‘लिडरसिप एकेडेमी’बाट अनिवार्य रूपमा उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार आइतबार बसेको सचिवालय बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
उनले पार्टीलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन यस्तो प्रावधान लागू गरिएको बताए ।
रास्वपाले पार्टी स्थापना कालदेखि नै विधानमा ‘उम्मेदवार क्लब’को अवधारणा समावेश गरेको थियो ।
विधानको भाग–१९, धारा–६३ अनुसार सबै तहका निर्वाचनमा उम्मेदवारी दिन इच्छुक व्यक्तिका लागि सम्बन्धित तहमा उम्मेदवार क्लब गठन हुने व्यवस्था छ ।
यस क्लबको गठन, सञ्चालन, प्रशिक्षण र मूल्यांकनसम्बन्धी कार्यविधि नियमावली वा केन्द्रीय समितिले तोक्नेछ ।
यसअघि पार्टीले सहमहामन्त्री विपिनकुमार आचार्यलाई उम्मेदवार क्लबका लागि आवश्यक संरचना तयार पार्ने जिम्मेवारी दिएको थियो ।
आचार्य नेतृत्वको टोलीले आवश्यक तयारी पूरा गरी वडा तहदेखि केन्द्रीय तहसम्मका कमिटी, विभाग र आयोगसँग परामर्शसमेत लिएको जनाएको छ ।
पार्टीका नेताहरूका अनुसार उम्मेदवार क्लब र लिडरसिप एकेडेमीमार्फत स्थानीय तहका सम्भावित उम्मेदवारलाई प्रशिक्षण दिँदै उनीहरूको क्षमता परीक्षण गरिनेछ । यसले उम्मेदवार छनोट प्रक्रियालाई थप पारदर्शी र उत्तरदायी बनाउने विश्वास लिइएको छ ।
यही बैठकमा पार्टी सभापति रवि लामिछानेलाई आचार्य नेतृत्वको समितिले ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ को मस्यौदा पनि बुझाएको छ ।
उक्त मस्यौदाले आगामी निर्वाचनमा रास्वपाको उम्मेदवार चयन प्रक्रिया कस्तो हुने भन्ने स्पष्ट दिशा दिने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


