जनकपुरधाममा पाँचतारे होटल निर्माणको घोषणा, मधेशको पर्यटनमा नयाँ आशा

जनकपुरधाम, २० बैशाख । धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा पहिलो पटक पाँचतारे होटल निर्माण हुने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष रामेश्वर शाहको नेतृत्वमा ‘मिथिला हस्पिटालिटी’ अन्तर्गत उक्त महत्वाकांक्षी परियोजना अघि सारिएको हो ।
चितवनमा ‘रोयल टुलिप रिसोर्ट’ सञ्चालन गरेर हस्पिटालिटी क्षेत्रमा पहिचान बनाइसकेका शाहले अब मधेश प्रदेशमै ठूलो लगानी विस्तार गर्न लागेका हुन् ।
करिब २ अर्ब रुपैयाँ लागतमा निर्माण हुने होटल जनकपुरधामको पर्यटन पूर्वाधार विकासमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ ।
करिब २ लाख वर्गफिट क्षेत्रफलमा फैलिने परियोजनाको निर्मित क्षेत्रफल १ लाख २० हजार वर्गफिट रहनेछ । होटल तीन वर्षभित्र निर्माण सम्पन्न गरी २०८६ साल वैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ ।
होटलमा ८ विलासी सुइटसहित १२४ कोठा र ३७२ बेड रहनेछन् । परियोजनामा पूर्व बैंकर ज्ञानेन्द्र ढुंगाना, व्यवसायी काजी लामा, सुदीप चौधरी र उदयकान्त झा लगायतको पनि लगानी रहने जनाइएको छ ।
सुविधाका हिसाबले होटललाई पूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । यहाँ उच्चस्तरीय रेस्टुरेन्ट, लाइभ किचन, क्याफे लाउन्ज, लाइभ म्युजिकसहितको बार, रूफटप पूल बार, बैंक्वेट हल, व्यापार केन्द्र, स्पा, हेल्थ क्लब, टेनिस कोर्ट, एम्फीथिएटर तथा ईभी चार्जिङ स्टेशन जस्ता सेवा उपलब्ध गराइनेछ ।
परियोजना सञ्चालनमा आएपछि करिब १५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् भने स्थानीय व्यवसाय र सेवा क्षेत्रमासमेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको आवास सुविधा अभाव भइरहेका बेला यो परियोजनाले धार्मिक पर्यटक, जानकी मन्दिरका दर्शनार्थी, विवाह महोत्सवका सहभागी तथा व्यापारिक प्रतिनिधिहरूलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


