कमला पुलको डाइभर्सन पुनः भत्कियो, सिरहा–धनुषा आवतजावत ठप्प

सिरहा, १९ बैशाख । सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमला नदी पुल नजिक बनाइएको अस्थायी डाइभर्सन फेरि भत्किएको छ ।
शनिबार बिहान आएको बाढीले माटो तथा बालुवाले बनाइएको अस्थायी संरचना बगाएपछि दुई जिल्लाबीचको आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको हो ।
केही दिनअघि परेको सामान्य वर्षाले क्षति पुर्याएको डाइभर्सन मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । तर, बिहीबार रातिदेखि लगातार परेको वर्षापछि कमला नदीमा पानीको बहाव बढ्दा डाइभर्सन पुनः बगाएको स्थानीयले बताएका छन् ।
पुल क्षेत्रभन्दा करिब ३०० मिटर अगाडि बनाइएको अस्थायी बाँध बाढीले बगाएपछि सयौं सवारीसाधन बाटोमै रोकिएका छन् ।
यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ भने स्थानीयवासी दैनिक आवतजावतमा समस्या भोगिरहेका छन् ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार निरन्तर वर्षा र नदीमा बढ्दो बहावका कारण अस्थायी संरचना धान्न नसकेको हो ।
‘हाल पानीको सतह उच्च रहेकाले वास्तविक अवस्था बुझ्न कठिन छ । पानी घटेपछि नगरपालिकाको सहयोगमा जेसीबी प्रयोग गरी पुनः डाइभर्सन निर्माण गरिनेछ,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक वासुदेव पाठकले सुरक्षालाई ध्यानमा राख्दै घटनास्थलमा प्रहरी परिचालन गरिएको जानकारी दिए ।
उनका अनुसार जोखिम बढेकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । हुलाकी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीलाई अन्य सुरक्षित बाटो प्रयोग गर्न निर्देशन दिइएको छ ।
कमला नदीमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
२०६८ साल जेठमा पप्पु–लुम्बिनी जेभीसँग करिब २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको पुल २०७१ मंसिरमै सम्पन्न हुनुपर्ने थियो । तर, हालसम्म काम पूरा नभई पटक पटक म्याद थप हुँदै आएको छ ।
निर्माणकै क्रममा २०७८ असार १७ गते आएको बाढीले पुलका दुई वटा जग भासिँदा चार स्ल्याबमा क्षति पुगेको थियो । तीमध्ये सिरहातर्फका दुई स्ल्याब हटाइसकिएको छ भने धनुषातर्फका दुई स्ल्याब सुरक्षित रहेको प्राविधिक अध्ययनले देखाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


