जनकपुरधाम, १९ बैशाख । देशभर कृषिप्रति घट्दो आकर्षण, वैदेशिक रोजगारीतर्फ युवाहरूको बढ्दो मोह र गाउँगाउँमा बाँझो हुँदै गइरहेको उर्वर जमिनबीच महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाबाट एउटा सशक्त उदाहरण बाहिर आएको छ ।

सीमित स्रोत, चुनौतीपूर्ण भौगोलिक अवस्था र सरकारी सहयोगको अभावका बाबजुद पनि एक युवा कृषकले आफ्नो दृढ इच्छाशक्ति, निरन्तर मेहनत र नवीन सोचका माध्यमबाट कृषि क्षेत्रमा सम्भावनाको उज्यालो देखाएका छन् । उनी हुन्—राम ध्यान मण्डल ।

केही वर्षअघिसम्म वैदेशिक रोजगारीको सोच बनाइरहेका मण्डलले अन्ततः आफ्नै माटोमा केही गर्ने अठोट लिए । गाउँ वरिपरिका धेरै कृषियोग्य जमिनहरू बाँझै रहेको, खेतीप्रति मानिसहरूको रुचि घट्दै गएको र कृषि गरेर केही हुँदैन भन्ने मानसिकता हाबी हुँदै गएको अवस्था देखेर उनले सोच बदले । अरू देशमा पसिना बगाउनु भन्दा आफ्नै गाउँमा केही नयाँ गरौं भन्ने अठोटका साथ उनले कृषि यात्राको शुरुवात गरे ।

बाँझो जमिनबाट उत्पादनको क्रान्ति
मण्डलले सुरुमा भाडामा जमिन लिए । त्यो पनि त्यस्तो क्षेत्र जहाँ धेरै किसान जान हिच्किचाउँथे । पूर्वतर्फ खोला भएको, बाढीको जोखिम रहने र माटो व्यवस्थापन चुनौतीपूर्ण मानिने ठाउँ । तर, उनले जोखिमलाई अवसरको रूपमा लिए ।

‘सबैले छोडेको जमिनमै मैले सम्भावना देखें,’ उनी सम्झिन्छन्, ‘सही योजना बनाएर काम गरियो भने जोखिम पनि कम गर्न सकिन्छ ।’

त्यसपछि उनले बिघौँ क्षेत्रफलमा ‘किरण’ प्रजातिको खरबुजा खेती सुरु गरे । आधुनिक कृषि प्रविधि, समयमै मलजल व्यवस्थापन, रोग नियन्त्रण र बजारको मागअनुसार उत्पादन गर्ने रणनीतिले उनको खेतीलाई सफल बनायो । सुरुका दिनहरू सजिला थिएनन् । बीउ छनोटदेखि सिँचाइ व्यवस्थापनसम्म उनले धेरै प्रयोग र सिकाइ गरे ।

आज मण्डलको खेतमा लहलहाउँदै फलेका खरबुजाहरू उत्पादन मात्र भनई उनको संघर्ष र सफलताको उदाहरण बनेका छन् । वार्षिक रूपमा लाखौँ रुपैयाँको आम्दानी गर्न सफल भएका उनी आफ्नो परिवारको आर्थिक अवस्था सुधार्न सफल भएका छन् ।

‘पहिले घर खर्च धान्नै गाह्रो हुन्थ्यो, अहिले बचत गर्न थालेको छु,’ मण्डल भन्छन्, ‘कृषि सही तरिकाले गरियो भने सम्मानजनक आम्दानी सम्भव छ ।’

उनको सफलताले गाउँमा सकारात्मक प्रभाव पारेको छ । वैदेशिक रोजगारीको तयारीमा रहेका केही युवाहरू अहिले मण्डलको खेतमा पुगेर सिक्न थालेका छन् । स्थानीय स्तरमा पनि बाँझो जमिनमा खेती गर्ने क्रम विस्तार हुँदै गएको छ ।

स्थानीय एक युवाले भने, ‘पहिला हामी सबै विदेश जाने सोच्थ्यौं, तर अहिले गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास बढेको छ ।’

चुनौतीहरूको बीचमा अडिग यात्रा
यद्यपि, मण्डलको यात्रा पूर्ण रूपमा सहज भने छैन । मौसमको अनिश्चितता, बाढीको जोखिम, बजार मूल्यमा उतारचढाव र कृषि सामग्रीको अभावजस्ता समस्याहरूले उनलाई पटक पटक चुनौती दिएको छ ।

‘कहिले पानी धेरै पर्छ, कहिले खडेरी हुन्छ । बजारमा मूल्य पनि निश्चित हुँदैन,’ उनी भन्छन्, ‘तर यी चुनौतीसँग जुध्न सिक्दै गएको छु ।’

उनले सरकार र सम्बन्धित निकायहरूको भूमिकाप्रति पनि प्रश्न उठाएका छन् । ‘कृषि विकासका धेरै कार्यक्रमहरू छन् भनिन्छ । तर, ती वास्तविक किसानसम्म पुग्न सकेका छैनन्,’ उनले गुनासो गरे ।

मण्डलले विशेषगरी कृषि ज्ञान केन्द्र, स्थानीय तहका कृषि शाखा तथा प्रादेशिक कृषि मन्त्रालयहरूलाई किसानमुखी बन्न आग्रह गरेका छन् ।

‘हामीलाई भाषण नभई व्यवहारिक सहयोग चाहिन्छ । जस्तै गुणस्तरीय बीउ, सहज मल, प्राविधिक तालिम र बजारको सुनिश्चितता,’ उनले भने ।

उनका अनुसार यदि सरकारले वास्तविक किसानलाई पहिचान गरी लक्षित कार्यक्रम ल्याउन सके कृषिमा ठूलो परिवर्तन सम्भव छ ।

स्थानीयवासी मण्डलको प्रयासलाई सकारात्मक रूपमा हेर्छन् । नेपालमा अझै ठूलो परिमाणमा कृषियोग्य जमिन प्रयोगविहीन अवस्थामा रहेको सन्दर्भमा यस्ता उदाहरणहरूले कृषि क्षेत्रलाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

कृषि विज्ञहरूका अनुसार यदि स्थानीय स्तरमा यस्ता उद्यमशील किसानलाई प्रोत्साहन गरियो भने आयातमा निर्भरता घटाउन र रोजगारी सिर्जना गर्न सकिन्छ ।

तस्बिरहरू: देवनारायण मण्डल