जनकपुरधाम–१६ मा विद्यार्थी भर्ना अभियान सम्पन्न

जनकपुरधाम, १८ बैशाख । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित आधारभूत विद्यालयमा शैक्षिक सत्र २०८३ लक्षित विद्यार्थी भर्ना अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।
‘सबै बालबालिका विद्यालय जाऔं, उज्यालो भविष्य बनाऔं’ भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियानमा स्थानीय अभिभावक तथा समुदायको उल्लेख्य सहभागिता देखिएको विद्यालयले जनाएको छ ।
वडाध्यक्ष रामचन्द्र पजियार र प्रधानाध्यापक गौरीशंकर लाल कर्णको नेतृत्वमा बैशाख १५ देखि १७ गतेसम्म टोल टोलमा पुगेर भर्ना अभियान सञ्चालन गरिएको थियो ।
अभियानका क्रममा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने र अभिभावकलाई शिक्षाप्रति सचेत गराउने प्रयास गरिएको जनाइएको छ ।
वि.सं. २०२९ मा स्थापना भएको उक्त विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा ८ सम्म अध्ययनको व्यवस्था रहेको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गराउन आग्रह गरेको छ ।
प्रधानाध्यापक कर्णका अनुसार सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने लक्ष्यसहित अभियान सञ्चालन गरिएको हो ।
उनले विद्यालयमा गुणस्तरीय शिक्षा, अनुशासन र विद्यार्थीको समग्र विकासलाई प्राथमिकतामा राखिने बताए ।
अभियानअन्तर्गत नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रमसँगै शैक्षिक सामग्री व्यवस्थापन, सिकाइ वातावरण सुधार तथा पठनपाठनलाई थप प्रभावकारी बनाउने योजना अघि सारिएको विद्यालय प्रशासनले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


