जनकपुरधाम, १८ बैशाख । मधेश प्रदेशमा बढ्दो लागुऔषध दुव्र्यसनलाई नियन्त्रण गर्न तथा सेवनकर्तालाई सुधार र पुनस्र्थापनामा ल्याउने लक्ष्यसहित प्रदेश प्रहरी कार्यालयले ‘लागु औषध सेवनकर्ता खोजी एवं सुधार महा–अभियान २०८३’ सुरु गरेको छ ।

मधेश प्रदेश प्रहरीका अनुसार अभियानले नियन्त्रणमा मात्र नभई सेवनकर्ताको पहिचान, निगरानी र सुधारलाई केन्द्रमा राखेको छ ।

यसका लागि प्रदेशका आठै जिल्लामा समन्वयात्मक ढंगले कार्य अघि बढाइने बताइएको छ ।

प्रदेश प्रहरी प्रमुख गोविन्द थपलियाले जिल्ला प्रहरी प्रमुखहरू तथा मातहतका इकाइलाई विशेष ब्रिफिङ गर्दै अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

उनले लागुऔषध सेवनकर्ताको पहिचान गरी उनीहरूलाई सुधारको दायरामा ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको बताए ।

अभियान अन्तर्गत सीमावर्ती नाकाहरूमा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गरिनेछ । ती स्थानहरूमा ‘ड्रग टेस्ट किट’ प्रयोग गरी आवतजावत गर्ने व्यक्तिहरूको परीक्षण गरिने योजना छ ।

साथै, सीमाबाट नियमित आवतजावत गर्ने विशेषगरी युवा युवतीहरूको तथ्यांक संकलन गरी निगरानी प्रणालीलाई थप सुदृढ बनाइने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो अभियानले लागुऔषध दुव्र्यसन न्यूनीकरणसँगै सामाजिक सुधारमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।