जनकपुरधाम, १८ बैशाख । शिक्षा क्षेत्रमा व्यापक सुधार नगरेसम्म महिला र पुरुषबीचको विभेद अन्त्य हुन नसक्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

मानव अधिकारका लागि महिला, एकल महिला समूह धनुषाद्वारा आयोजित ‘पितृसत्तात्मक समाजमा महिलाको अवस्था’ विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य रुपा यादवले राजनीतिक वा शासकीय व्यवस्था परिवर्तन हुँदैमा समाजमा आमूल परिवर्तन नआउने बताउँदै शिक्षाको गुणस्तर सुधार अपरिहार्य रहेको उल्लेख गरिन् ।

उनले विशेषगरी एकल महिलाहरूले आफ्नो अधिकार स्थापित गर्न अझ सक्रिय र संगठित संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पछिल्लो समय श्रीमान श्रीमतीबीच बढ्दै गएको वैवाहिक विवादले पनि लैङ्गिक समानताको लक्ष्यलाई प्रभावित गरिरहेको बताए ।

उनले परिवारभित्र आपसी समझदारी र सुमधुर सम्बन्ध कायम भए यस्ता समस्याहरू स्वतः न्यूनीकरण हुने धारणा राखे ।

कार्यक्रममा वक्ताहरूले नेपाल सरकारद्वारा २०७० सालमा स्थापना गरिएको ‘एकल महिला सुरक्षा कोष’को प्रभावकारितामाथि प्रश्न उठाउँदै कोष स्थापना भए पनि अपेक्षित रूपमा एकल महिलाको सामाजिक तथा आर्थिक अवस्थामा सुधार आउन नसकेको बताएका थिए ।

मानव अधिकारका लागि महिला, एकल महिला समूह धनुषाकी अध्यक्ष सुभद्रा आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डल, उपसभापति संगिता ठाकुर तथा राम मन्दिरका महन्थ राम गिरीलगायतले पनि आ-आफ्नो धारणा राखेका थिए ।