जनकपुरधाममा महिलाको मृत्यु प्रकरण: वार्तापछि सहमति, १ लाख क्षतिपूर्ति

जनकपुरधाम, १८ बैशाख । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनामा अस्पताल प्रशासन र मृतकका परिवारबीच अन्ततः सहमति भएको छ ।
सहमतिपछि लामो समयदेखि जारी तनाव र विरोध कार्यक्रमसमेत अन्त्य भएको छ ।
दुवै पक्षबीच भएको सहमतिअनुसार अस्पतालले मृतकका परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिने र ८० हजार रुपैयाँ उपचार खर्च मिनाहा गर्ने निर्णय भएको छ ।
उक्त सहमतिपछि परिवारजनले शव बुझेर अन्त्येष्टिका लागि घर फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालयको पहलमा डीएसपी मधुसुदन न्यौपानेको नेतृत्वमा भएको वार्तापछि सहमति जुटाइएको हो ।
घटनापछि बिहानैदेखि अस्पताल परिसर तनावग्रस्त बनेको थियो भने सुरक्षा अवस्थालाई ध्यानमा राख्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनी देवी पासवानको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया बैशाख १६ गते साँझ गरिएको थियो ।
अस्पतालका अनुसार शल्यक्रियापछि शुक्रबार बिहान करिब ३ बजे उनको मृत्यु भएको हो ।
यद्यपि, मृतकका आफन्तले उपचारमा गम्भीर लापरबाही भएको आरोप लगाउँदै अस्पतालविरुद्ध प्रदर्शन गरेका थिए ।
उनीहरूले ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गर्ने सहमति भए पनि चिकित्सकले पेट चिरेर अप्रेसन गरेको दाबी गरेका छन् । आक्रोशित भीडले अस्पतालमा तोडफोडसमेत गरेको थियो ।
तर, उपचारमा संलग्न चिकित्सकले भने बिरामीको स्वास्थ्य अवस्थाअनुसार परिवारकै सहमतिमा चिरुवा शल्यक्रिया गरिएको जिकिर गरेका छन् ।
केही समय पोस्टमार्टम तथा कानुनी प्रक्रियाबारे अन्योल देखिए पनि अन्ततः सहमतिसँगै विवाद समाधानतर्फ गएको छ ।
मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेको र उनका तीन सन्तान रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


