सामाजिक सुरक्षा कोषद्वारा श्रमिकलाई घडेरी कर्जा योजना, ६ प्रतिशत ब्याजमा १.५ करोडसम्म ऋण

काठमाडौं, १८ बैशाख । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूले अब घडेरी खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा पाउने भएका छन् ।
कोषले पहिलो पटक श्रमिक लक्षित ‘घडेरी कर्जा योजना’ सार्वजनिक गर्दै अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले उक्त योजना सार्वजनिक गर्दै योगदानमा आधारित प्रणालीमा आबद्ध श्रमिकलाई ६ प्रतिशत ब्याजदरमा कर्जा दिने व्यवस्था गरिएको जानकारी दिए ।
कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार श्रमिकले नियमित रूपमा कम्तीमा १८ महिनासम्म कोषमा योगदान गरेको हुनुपर्नेछ ।
योगदानको आधारमा श्रमिकले अधिकतम सीमाभित्र रहेर कर्जा लिन सक्नेछन् ।
हाल कोषले घर कर्जा, घर निर्माण कर्जा तथा शैक्षिक कर्जा जस्ता विभिन्न सुविधा प्रदान गर्दै आएको छ ।
नयाँ योजना लागू भएसँगै श्रमिकहरूलाई जग्गा खरिदमासमेत सहज पहुँच हुने विश्वास गरिएको छ ।
कोषले यस योजनालाई श्रमिकको आर्थिक सशक्तीकरण र दीर्घकालीन सामाजिक सुरक्षासँग जोडिएको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


