जनकपुरधाममा शल्यक्रियापछि महिलाको मृत्यु, अस्पतालमा तोडफोड

जनकपुरधाम, १८ बैशाख । जनकपुरधामस्थित एक निजी अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएपछि उनका आफन्त आन्दोलित बनेका छन् ।
घटनापछि अस्पताल परिसर तनावग्रस्त बनेको छ भने सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरी निवासी ३६ वर्षीया रागनी देवी पासवानको कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पतालका अनुसार बैशाख १६ गते साँझ पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि अवस्था सामान्य रहेको बताइए पनि शुक्रबार बिहान करिब ३ बजेतिर उनको मृत्यु भएको जनाइएको छ ।
तर, मृतकका आफन्तले भने उपचारमा लापरबाही भएको आरोप लगाउँदै विरोध जनाएका छन् । आक्रोशित परिवारजनले अस्पतालमा तोडफोडसमेत गरेका छन् ।
मृतकका ससुरा दयाराम पासवानका अनुसार गाउँकै स्वास्थ्यकर्मीको सल्लाहमा बैशाख ७ गते उनलाई उक्त अस्पतालमा परीक्षणका लागि ल्याइएको थियो । चिकित्सकको सुझावअनुसार बैशाख १६ गते भर्ना गरी शल्यक्रिया गरिएको उनले बताए ।
उनका अनुसार अस्पतालसँग १ लाख २५ हजार रुपैयाँमा ल्याप्रोस्कोपी (प्वाल पारेर गरिने) विधिबाट शल्यक्रिया गर्ने सहमति भएको थियो । तर, चिकित्सकले पेट चिरेर शल्यक्रिया गरेको र त्यसकै कारण मृत्यु भएको आरोप उनले लगाए ।
‘प्वाल पारेर अप्रेसन गर्ने कुरा भएपछि हामीले सहमति दिएका थियौं । तर, पेट चिरेर अप्रेसन गरियो, त्यसकारण यस्तो घटना भयो,’ दयारामले भने । उनले दोषी चिकित्सक र अस्पतालमाथि कारबाही तथा क्षतिपूर्ति माग गरेका छन् ।
यता, शल्यक्रियामा संलग्न सर्जन डा. अमरेश कर्णले भने बिरामीको अवस्थाअनुसार परिवारकै सहमतिमा चिरुवा विधि अपनाइएको दाबी गरेका छन् ।
उनका अनुसार युरेटरमा १३.७ एमएमको पत्थरी देखिएपछि जोखिमलाई ध्यानमा राख्दै शल्यक्रिया गरिएको थियो ।
‘शल्यक्रियापछि बिरामीको अवस्था सामान्य थियो र जनरल वार्डमा सार्ने तयारी भइरहेको थियो । तर, राति अचानक प्रेसर घटेपछि उपचारका क्रममा मृत्यु भयो,’ डा. कर्णले भने ।
उनले उपचारमा कुनै लापरबाही नभएको दाबी गर्दै यस्तो घटना आफ्नो चिकित्सकीय जीवनकै पहिलो भएको उल्लेख गरे ।
घटनापछि अस्पताल र मृतक परिवारबीच पोस्टमार्टम गर्ने वा आपसी समझदारीमा मुद्दा मिलाउने विषयमा छलफल भइरहेको छ ।
मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेको र उनका तीन सन्तान रहेका बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


