जनकपुरधाम, १७ बैशाख । मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले जनकपुरधामको मुजेलियास्थित ॐ शान्ति मिथिला वाटिकामा निर्माण गरिएको ‘शान्ति स्तम्भ’ को उद्घाटन गरेका छन् ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक ब्रह्माकुमारी राजदादीसँग संयुक्त रूपमा उनले उक्त स्तम्भ उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख यादवले जनकपुरधाममा थपिएको शान्ति स्तम्भ, तपस्याधाम तथा ईश्वरीय विश्वविद्यालय भवनले धार्मिक तथा पर्यावरणीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले यस्ता संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै आध्यात्मिक चेतना अभिवृद्धिमा समेत टेवा पुग्ने बताए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य अनिता कुमारी साह, गौ संरक्षण मंचका केन्द्रीय अध्यक्ष जगदीश महासेठलगायतले मन्तव्य राखेका थिए ।

वक्ताहरूले शान्ति, सहअस्तित्व र आध्यात्मिक जीवनशैलीको सन्देश फैलाउन यस्ता संरचनाको आवश्यकता औंल्याएका थिए ।