काठमाडौं, १७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।

उनले उक्त निर्णयलाई लोकतन्त्रको मूल्यमान्यता र प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहारको रूपमा व्याख्या गरेका छन् ।

बिहीबार नेपाल पत्रकार महासंघको टोलीसँगको भेटमा आङ्देम्बेले सरकारको यस्तो कदमले निजी सञ्चारमाध्यमको आर्थिक आधार कमजोर बनाउने र स्वतन्त्र पत्रकारितामा असर पर्ने चेतावनी दिए ।

‘सरकारले नाडी छाम्ने प्रयास गर्न सक्छ । तर, लोकतन्त्रको मर्ममाथि नाडी छाम्ने सोच गलत हो,’ उनले भने ।

उनका अनुसार सरकारी विज्ञापनलाई सीमित गरेर सरकार नियन्त्रित सञ्चारमाध्यममा मात्र केन्द्रित गर्नु प्रेस स्वतन्त्रताको सिद्धान्तविपरीत हो ।

यस विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै उनले संसद् तथा संसदीय समितिहरूमा सशक्त रूपमा उठाइने बताए ।

उता, सरकारको उक्त निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ पनि आन्दोलनमा उत्रिएको छ ।

महासंघ अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाललगायतको टोलीले आङ्देम्बेलाई भेटेर निर्णय खारेज गर्न दबाब दिन ध्यानाकर्षण गराएको थियो ।

यसैबीच, आङ्देम्बेले सरकारले संसद् बैठक बोलाएर स्थगित गर्ने र त्यसपछि अध्यादेश ल्याउने क्रमप्रति पनि असन्तुष्टि जनाएका छन् ।

उनले यसलाई ‘अध्यादेशको बाढी ल्याउने प्रयास’ भन्दै लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएका छन् ।

बजेटमाथि छलफल गर्नुपर्ने संवेदनशील समयमा कुनै आकस्मिक अवस्था नहुँदा पनि सरकारले अध्यादेशमार्फत काम अघि बढाउनु उचित नभएको उनको भनाइ छ ।