सुकुमवासी संघद्वारा चरणबद्ध आन्दोलन घोषणा

जनकपुरधाम, १७ बैशाख । अखिल नेपाल सुकुमवासी संघले वैकल्पिक व्यवस्था नगरी सुकुमवासी बस्तीहरूमा गरिँदै आएको उठिबासको विरोध गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले विभिन्न स्थानका सुकुमवासी बस्तीहरूमा डोजर प्रयोग गरी जबरजस्ती हटाउने कार्य भइरहेको आरोप लगाउँदै तत्काल यस्तो गतिविधि रोक्न सरकारसँग माग गरेको हो ।
संघका अनुसार वैकल्पिक बसोबासको व्यवस्था नगरी गरिने उठिबासले नागरिकमा त्रास सिर्जना गरेको छ ।
संघले पहिलो चरणमा भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीसँग गरिएका सरकारी प्रतिबद्धता कार्यान्वयन गर्न दबाब दिने र जबरजस्ती उठिबास रोक्न सम्बन्धित निकायलाई आग्रह गर्ने जनाएको छ ।
यस्तै, दोस्रो चरणअन्तर्गत मेची महाकाली राजमार्गमा चक्काजाम, सरकारविरुद्ध देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने योजना संघले सार्वजनिक गरेको छ ।
संघका अध्यक्ष अमर परियारले राज्यकै पहलमा नागरिकलाई जबरजस्ती उठिबास गरिनु निन्दनीय भएको बताउँदै शान्तिपूर्ण आन्दोलनबाट माग सम्बोधन नभए थप कडा कार्यक्रम ल्याइने चेतावनी दिए ।
संघले अन्तिम विकल्पका रूपमा देशव्यापी अनिश्चितकालीन आमहड्तालसहित सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


