काठमाडौं, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ बमोजिम सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरिएको हो ।

उक्त अध्यादेश २०८३ साल वैशाख १७ गतेदेखि लागू भएको जनाइएको छ ।

अध्यादेशमार्फत सहकारी क्षेत्रको व्यवस्थापन, नियमन तथा सुधारका लागि आवश्यक कानुनी व्यवस्था परिमार्जन गर्ने उद्देश्य रहेको बुझिएको छ ।

पछिल्लो समय सहकारी संस्थामा देखिएका समस्या, वित्तीय अनियमितता तथा सर्वसाधारणको बचत सुरक्षासम्बन्धी चिन्तालाई सम्बोधन गर्न सरकारले अध्यादेश ल्याएको स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा अध्यादेश कार्यान्वयनसँगै सहकारी क्षेत्र थप व्यवस्थित र पारदर्शी बन्ने विश्वास गरिएको उल्लेख गरिएको छ ।