सरुवा भए पनि हाजिर नहुँदा सिरहाका स्थानीय तह प्रशासनिक नेतृत्वविहीन

सिरहा, १५ बैशाख । संघीय सरकारबाट सरुवा गरिएका प्रमुख प्रशासकीय अधिकृतहरू लामो समयसम्म हाजिर नहुँदा सिरहाका चार स्थानीय तह प्रशासनिक नेतृत्वविहीन बनेका छन् ।
यसले आर्थिक तथा विकास निर्माणका काम प्रभावित भएको स्थानीय तहहरूले गुनासो गरेका छन् ।
लहान नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव जयकान्त झाले बैशाख ५ गते अवकाश पाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव दुर्गाप्रसाद भूर्तेललाई लहानमा पठाएको थियो ।
बैशाख ८ मै सरुवा गरिएको भए पनि उनी हालसम्म नगरपालिकामा हाजिर भएका छैनन् ।
मन्त्रालयले अन्य स्थानीय तहमा पठाएका अधिकृतहरू पनि अझै जिम्मेवारी सम्हाल्न पुगेका छैनन् ।
कल्याणपुर नगरपालिकामा सरुवा गरिएका उपसचिव विश्वरुप दाहाल, धनगढीमाई नगरपालिकामा पठाइएका मोहन निरौला र गोलबजार नगरपालिकामा खटाइएका रूपनारायण खतिवडासमेत हाजिर नभएको नगरपालिकाहरूले जनाएका छन् ।
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयन र दैनिक प्रशासनिक काम ठप्पजस्तै भएको बताए ।
‘असार मसान्त नजिकिँदै गर्दा विकास योजनाहरूलाई तीव्रता दिनुपर्ने अवस्था छ । तर, प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम प्रभावित भएको छ,” उनले भने ।
त्यस्तै, कल्याणपुर नगरपालिकाकी कार्यवाहक प्रमुख रेखाकुमारी यादवले पनि आर्थिक तथा प्रशासनिक निर्णय प्रक्रियामा समस्या देखिएको बताइन् ।
‘यो अत्यन्तै महत्वपूर्ण समय हो । यस्तो बेलामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयनमै चुनौती थपिएको छ,’ उनले भनिन् ।
सरुवा भइसके पनि अधिकृतहरू किन हाजिर भएनन् भन्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने मौन देखिएको छ । मन्त्रालयकी सचिव चन्द्रकला पौडेलले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


