मधेशमा आत्महत्याको भयावह चित्र, दैनिक ३–४ जनाले ज्यान गुमाउँदै

जनकपुरधाम, १५ बैशाख । मधेश प्रदेशमा आत्महत्याका घटना पछिल्लो समय गम्भीर सामाजिक संकटका रूपमा देखा पर्न थालेका छन् ।
प्रहरीको पछिल्लो तथ्याङ्कले दैनिक औसत ३ देखि ४ जनाले आत्महत्या गर्ने गरेको देखाउँछ ।
मधेश प्रदेश प्रहरी कार्यालयबाट उपलब्ध विवरण अनुसार पछिल्ला करिब तीन वर्षमा मधेश प्रदेशमा ३ हजार ३४८ जनाले आत्महत्या गरेका छन् ।
चालु आर्थिक वर्षमै ७९३ जनाले ज्यान गुमाइसकेका छन् । त्यसमा २८२ पुरुष, ३०४ महिला र २०७ बालबालिका रहेका छन् ।बालबालिकामध्ये पनि बालिकाको संख्या अत्यधिक देखिएको छ । हालसम्म १७२ बालिकाले आत्महत्या गरेको तथ्याङ्कले झन् चिन्ताजनक अवस्था उजागर गरेको छ ।
चालु आर्थिक वर्षमा सबैभन्दा बढी आत्महत्या सिरहा जिल्लामा (१३४) भएको छ । त्यसपछि, धनुषा (११२), सर्लाही (१११), रौतहट (१०९) रहेका छन् । सबैभन्दा कम पर्सा (६९) मा देखिएको छ । त्यस्तै, सप्तरीमा ८८, महोत्तरीमा ७७ र बारामा ९३ जनाले आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष २०८१/०८२ मा १ हजार २६१ जनाले आत्महत्या गरेका थिए । त्यसमा ४७८ पुरुष, ४७२ महिला र ३११ बालबालिका थिए । तीमध्ये २४६ बालिका रहेका थिए । त्यस वर्ष सबैभन्दा बढी धनुषा (२०७) र सबैभन्दा कम पर्सा (१०९) मा घटना दर्ता भएका थिए ।
त्यसअघि आर्थिक वर्ष २०८०/०८१ मा १ हजार २९४ जनाले आत्महत्या गरेका थिए । यस वर्ष पुरुषको संख्या बढी (५५६) रहेको छ भने महिला ४७० र बालबालिका २६८ रहेका छन् ।
बालबालिकामध्ये २०१ बालिका थिए । सर्लाही (२०६) मा सबैभन्दा बढी र सप्तरी (११७) मा सबैभन्दा कम घटना भएका थिए ।
आत्महत्या दुरुत्साहनसँग सम्बन्धित घटनामा पनि प्रहरी सक्रिय देखिएको छ । पछिल्ला तीन वर्षमा ४९९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
चालु आर्थिक वर्षमा ११४, आर्थिक वर्ष २०८१/०८२ मा १८८ र २०८०/०८१ मा १९७ जनालाई कारबाही गरिएको मधेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थापालियाले जानकारी दिए ।
मधेशमा आत्महत्याको मूल कारण बहुआयामिक छन् । बेरोजगारी, आर्थिक अभाव, पारिवारिक विवाद, मानसिक तनाव, दाइजो प्रथा, घरेलु हिंसा तथा प्रेम सम्बन्धसँग जोडिएका सामाजिक अवरोध प्रमुख कारकका रूपमा देखिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत अर्जुन खतिवडाका अनुसार पुरुषहरूमा बेरोजगारी, वैवाहिक सम्बन्धमा तनाव, लागुऔषध तथा मदिरा सेवन प्रमुख कारण हुन् भने महिलाहरूमा दाइजो प्रथा, घरेलु हिंसा र मानसिक दबाब मुख्य समस्या रहेका छन् ।
बालबालिका र किशोर किशोरीहरूमा पनि आत्महत्या दर बढ्दो छ । कम उमेरमै प्रेम सम्बन्धमा पर्ने, परिवारबाट अस्वीकार हुने, जबर्जस्ती विवाह गरिने जस्ता कारणले उनीहरू गम्भीर मानसिक तनावमा पर्ने गरेका छन् ।
यसबाहेक लागुऔषध प्रयोग र सामाजिक सञ्जालको दुरुपयोग पनि महत्वपूर्ण कारणका रूपमा देखिएको छ ।
इन्सेक मधेश प्रदेश प्रमुख राजु पासमानका अनुसार अन्तरजातीय विवाहप्रति समाजमा अझै स्वीकृति नहुनु पनि आत्महत्याको एक प्रमुख कारण हो ।
‘प्रेम सम्बन्धलाई सामाजिक रूपमा स्वीकार नगर्ने प्रवृत्तिले युवाहरूलाई मानसिक रूपमा कमजोर बनाइरहेको छ,’ उनले भने ।
उनले गरिबी न्यूनीकरण, स्वरोजगार कार्यक्रम र जातीय विभेदविरुद्ध कडा कानुनी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले आत्महत्या प्रदेशको गम्भीर सामाजिक चुनौती बनेको स्वीकार गरेका छन् ।
उनका अनुसार आर्थिक, पारिवारिक र मानसिक समस्याको संयुक्त प्रभावका कारण यस्तो अवस्था आएको हो ।
‘यसलाई न्यूनीकरण गर्न स्थानीय तहको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘मनोपरामर्श, जनचेतना र समुदायस्तरको सहकार्य अत्यावश्यक छ ।’
विद्यालयस्तरदेखि नै मानसिक स्वास्थ्य शिक्षा, समुदायमा मनोविमर्श कार्यक्रम, सडक नाटक, वृत्तचित्र तथा अन्तरक्रिया कार्यक्रममार्फत जनचेतना फैलाउनुपर्नेमा जोड दिइएको छ ।
साथै, आर्थिक रूपमा कमजोर वर्गलाई लक्षित गरी स्वरोजगार कार्यक्रम, सामाजिक सुरक्षा र सहुलियत योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


