स्थानीय तहलाई झक्झक्याउँदै पत्रकार महासंघ धनुषा, जिसस प्रमुखलाई बुझायो ध्यानाकर्षण पत्र

जनकपुरधाम, १५ बैशाख । प्रेस स्वतन्त्रता र पत्रकारहरूको हकहित संरक्षणको मागसहित नेपाल पत्रकार महासङ्घले देशव्यापी रूपमा अघि बढाएको विरोध कार्यक्रम अन्तर्गत धनुषा जिल्लामा पनि सक्रियता बढाइएको छ ।
सोही अभियानअन्तर्गत नेपाल पत्रकार महासङ्घ धनुषाले जिल्ला समन्वय समितिमार्फत जिल्लाभरिका सबै नगरपालिका तथा गाउँपालिकाका साथै नगरपालिका र गाउँपालिका महासंघलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
विशेषगरी संघीय सरकारले विज्ञापन सरकारी मिडियालाई मात्र दिने नीतिविरुद्ध महासंघले देशव्यापी रूपमा आवाज उठाउँदै आएको सन्दर्भमा धनुषामा पनि सोही विषयलाई प्रमुख रूपमा उठाइएको हो ।

पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहको नेतृत्वमा गएको टोलीले जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डललाई औपचारिक रूपमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो ।
उक्त पत्रमार्फत पत्रकारहरूको सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न चुनौतीहरूको समाधानका लागि स्थानीय तहको गम्भीर ध्यानाकर्षण गराइएको महासंघले जनाएको छ । साथै, सरकारी विज्ञापन वितरणमा विभेदकारी नीति अपनाइएको भन्दै त्यसको पुनरावलोकन गर्न माग गरिएको छ ।

ध्यानाकर्षण पत्रमा पछिल्लो समय पत्रकारमाथि बढ्दै गएको दमन, धम्की तथा असुरक्षाका घटनाप्रति चिन्ता व्यक्त गरिएको छ । स्थानीय सरकारहरूले पत्रकारमैत्री वातावरण निर्माण गर्न, सूचना प्रवाहलाई सहज बनाउन तथा सञ्चारकर्मीहरूको पेशागत अधिकारको सम्मान गर्नुपर्ने मागसमेत राखिएको छ ।
अध्यक्ष साहले वर्तमान परिस्थितिमा पत्रकारिता पेशा झन् चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्ने बताए । ‘लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको स्वतन्त्र पत्रकारिता कमजोर भएमा समग्र शासन प्रणाली नै प्रभावित हुन्छ,’ उनले भने । उनले संघीय सरकारको विज्ञापन नीतिले निजी तथा स्वतन्त्र मिडियालाई कमजोर बनाउने खतरा रहेकोसमेत औंल्याए ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख मण्डलले ध्यानाकर्षण पत्र ग्रहण गर्दै पत्रकारहरूको मागप्रति आफू गम्भीर रहेको प्रतिक्रिया दिए । उनले स्थानीय तहहरूसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
महासंघले जिल्लाका सबै स्थानीय तह तथा सम्बन्धित महासंघहरूसम्म ध्यानाकर्षण पत्र पठाएर पत्रकारहरूको हकहित, प्रेस स्वतन्त्रता तथा समान विज्ञापन वितरणको पक्षमा दबाब सिर्जना गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


