स्थानीयसँग दुर्व्यवहार गरेको आरोपमा डीएसपी हमाल गण तानिए, छानबिन सुरु

सिरहा, १४ बैशाख । सशस्त्र प्रहरी बल, माडर सिरहाअन्तर्गत बरियारपट्टी क्षेत्रमा कार्यरत डीएसपी विजय हमाललाई स्थानीयसँग दुर्व्यवहार गरेको आरोपपछि प्रदेश कार्यालय बर्दिबास तानिएको छ ।
हुलाकी राजमार्गअन्तर्गत पर्ने बरियारपट्टी सीमा क्षेत्रमा आइतबार बिहान सशस्त्र प्रहरीले अवैध डिजेल नियन्त्रणमा लिएको क्रममा उक्त घटना भएको हो ।
सोही क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार डीएसपी हमालले स्थानीयप्रति अभद्र व्यवहार गर्दै गालीगलौज गरेको आरोप लागेको छ ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषय थप चर्चामा आएको छ ।
भिडियो भाइरल भएसँगै उनलाई आवश्यक छानबिनका लागि सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी–२ महोत्तरी तानिएको जनाइएको छ ।
सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार घटनाबारे प्रारम्भिक छानबिन प्रक्रिया अघि बढाइएको छ ।
‘घटनाको वास्तविकता बुझ्न अनुसन्धान भइरहेको छ,’ उनले बताए ।
हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र आवश्यक कारबाही सोही आधारमा हुने सशस्त्र प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


