सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटको १९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

रौतहट, १४ बैशाख । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटले आफ्नो १९औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ ।
राजदेवी नगरपालिका–२ हजमिनियास्थित गण मुख्यालयमा आयोजित समारोहमा सुरक्षा निकाय, स्थानीय प्रशासन, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख डीआईजी कृष्ण ढकालले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
त्यसपछि आयोजित औपचारिक समारोहमा बोल्दै उनले सशस्त्र प्रहरी बलले राष्ट्रिय सुरक्षा, सीमा व्यवस्थापन, विपद् नियन्त्रण तथा शान्ति स्थापनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।
उनले खुला सीमाका कारण हुने चोरी, तस्करी, अवैध ओसारपसार तथा मानव बेचबिखनजस्ता अपराध नियन्त्रणमा अझ कडाइका साथ सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउँदै प्रविधिमैत्री सुरक्षा व्यवस्थापनमा जोड दिनुपर्ने धारणा राखे । साथै उनले संगठनका सदस्यहरूलाई अनुशासित, इमान्दार र जिम्मेवार भएर सेवा प्रवाहमा लाग्न निर्देशन दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सशस्त्र प्रहरी बललाई स्थापना दिवसको शुभकामना व्यक्त गर्दै सीमा सुरक्षालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
उनले स्थानीय प्रशासन र सुरक्षा निकायबीचको प्रभावकारी समन्वयले मात्र शान्ति सुरक्षा कायम गर्न सकिने उल्लेख गर्दै सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गरे ।
समारोहका अवसरमा विभिन्न खेलकुद तथा कार्यसम्पादनमा उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारीहरूलाई नगद, प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि ढकाल, सीडीओ भुसाल तथा अन्य सुरक्षा अधिकारीहरूले उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल, नेपाली सेनाका प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
समारोहमा संगठनको इतिहास, उपलब्धि र भावी योजनाबारे जानकारी गराइएको थियो ।
२०६४ सालमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले हालसम्म सीमा सुरक्षा, दंगा नियन्त्रण, विपद् व्यवस्थापन र महत्वपूर्ण संरचनाको सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


