काव्या हस्पिटलको ८औँ वार्षिकोत्सवमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर

जनकपुरधाम, १३ बैशाख । जनकपुरधाम–९ स्थित काव्या हस्पिटल प्रा.लि. ले आफ्नो ८औँ वार्षिकोत्सव विविध सामाजिक कार्यक्रमका साथ मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा अस्पतालले बृहत् रक्तदान कार्यक्रम तथा निःशुल्क थाइराइड परीक्षण शिविर आयोजना गरेको हो ।
‘रक्तदान, जीवनदान’ भन्ने नारासहित आयोजित रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी र स्थानीय युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।
बैशाख १३ गते बिहानदेखि सञ्चालन गरिएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनुषाको प्राविधिक सहयोग रहेको थियो । संकलित रगतले जिल्लामा देखिएको रगत अभाव न्यूनीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।
यसअघि, बैशाख १२ गते आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरूले थाइराइडसम्बन्धी परीक्षण तथा परामर्श दिएका थिए ।
शिविरमा आएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका सञ्चालक डा. एस.के. सिंहले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै सेवामूलक कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनले आगामी दिनमा पनि यस्ता जनस्वास्थ्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
काव्या हस्पिटलले जनकपुरधाममा न्यूरो सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी तथा अत्याधुनिक आईसीयू सेवा प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


