धार्मिक उल्लासले भरियो जनकपुरधाम, जानकी जन्मोत्सव भव्य रूपमा मनाइयो

जनकपुरधाम, १२ बैशाख । मिथिलाको सांस्कृतिक र धार्मिक धरोहरका रूपमा स्थापित जानकी जन्मोत्सव यस वर्ष पनि जनकपुरधाममा भव्यता र उत्साहका साथ मनाइएको छ ।
वैशाख शुक्ल नवमीका दिन मनाइने जानकी नवमीका अवसरमा आइतबार बिहानैदेखि जनकपुरधामका विभिन्न मठमन्दिरमा श्रद्धालु भक्तजनहरूको ठूलो भीड देखिएको थियो ।
धार्मिक मान्यताअनुसार यही दिन माता सीताको मिथिलामा जन्म भएको विश्वास गरिन्छ । सोही विश्वासका आधारमा प्रत्येक वर्ष झैँ यसपटक पनि जानकी जन्मोत्सवलाई विशेष तयारीसहित मनाइएको हो ।
बिहानैदेखि भक्तजनहरू पवित्र दुधमती नदीमा शाही स्नान गरी जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिरलगायतका धार्मिक स्थलमा पुगेर पूजा अर्चनामा सहभागी भएका थिए ।

यस वर्ष जानकी मन्दिरलाई नववधु झैँ आकर्षक रूपमा सिँगारिएको थियो । रंगीचंगी बत्ती, फूलमाला र परम्परागत सजावटले मन्दिर परिसर झन् आकर्षक देखिएको थियो ।
नेपालका विभिन्न जिल्ला मात्र नभई छिमेकी देश भारत तथा अन्य मुलुकबाट समेत हजारौँ श्रद्धालु भक्तजन र पर्यटक जनकपुरधाम पुगेका थिए ।
जन्मोत्सवका अवसरमा दिनभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका थिए । साँझ जानकी मन्दिर परिसरमा विशेष जानकी आरती गरिएको थियो भने जानकी सेनाले सवा लाख दीप प्रज्जवलन गरेको थियो ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार जानकी जन्मोत्सव धार्मिक पर्व मात्र नभई मिथिलाको पहिचान, इतिहास र संस्कृतिसँग जोडिएको महत्वपूर्ण अवसर हो ।
उनका अनुसार जननी जानकीको जन्मभूमि जनकपुरधामको महत्व राम जन्मभूमि अयोध्याजत्तिकै पवित्र छ ।
उनी भन्छन्, ‘जानकी नवमीलाई धार्मिक अनुष्ठानका रूपमा मात्र सीमित नराखी यसलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने आवश्यकता बढ्दो रूपमा महसुस भइरहेको छ । यसले नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत पुग्ने छ ।’
स्थानीय व्यवसायी तथा पर्यटन व्यवसायीहरूका अनुसार यस्ता धार्मिक पर्वहरूले जनकपुरधामको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने गरेका छन् ।
होटल, यातायात, हस्तकला र स्थानीय व्यापारमा समेत उत्सवको सकारात्मक प्रभाव देखिएको उनीहरू बताउँछन् ।
जानकी जन्मोत्सवले मिथिला क्षेत्रको धार्मिक आस्था मात्र नभई नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई समेत अझ मजबुत बनाउने काम गरेको सरोकारवालाहरूको भनाइ छ ।
उनीहरूका अनुसार यस्ता पर्वलाई व्यवस्थित र योजनाबद्ध रूपमा प्रवर्द्धन गर्न सके जनकपुरधामलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना उच्च रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


