जनकपुरधाम, १२ बैशाख । जनकपुर विमानस्थलमा यात्रु सुविधालाई ध्यानमा राख्दै अबदेखि उडानसम्बन्धी घोषणा (फ्लाइट एनाउन्समेन्ट) मैथिली भाषामा पनि गरिने भएको छ ।

धनुषा–३ का प्रतिनिधि सभा सदस्य मनिष झाको यस पहलले स्थानीय यात्रुहरूलाई सूचना बुझ्न थप सहज हुने विश्वास गरिएको छ ।

सांसद झाले यस निर्णयको स्वागत गर्दै नागरिक उड्डयन प्राधिकरणप्रति धन्यवाद व्यक्त गरेका छन् ।

उनले स्थानीय भाषा प्रयोगले सेवाग्राहीमैत्री वातावरण सिर्जना गर्ने र सांस्कृतिक पहिचानको सम्मान हुने बताए ।

‘जनकपुरधाम धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल भएकाले यहाँ आउने अधिकांश यात्रु मैथिली भाषासँग नजिक छन् । त्यसैले यस्तो पहल अत्यन्त सकारात्मक छ,’ झाले भने ।

स्थानीय स्तरमा भाषा संरक्षण र प्रवर्द्धनका लागि यो निर्णयलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।