जनकपुरधाममा भूमिहीनहरूको डिजिटल लगत संकलनका लागि ७ दिने सूचना

जनकपुरधाम, ११ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको एकीकृत डिजिटल लगत संकलन तथा प्रमाणीकरणका लागि वडा कार्यालयहरूलाई ७ दिने सार्वजनिक सूचना प्रकाशन गर्न निर्देशन दिएको छ ।
भूमि समस्या समाधान आयोग, ताहाचल काठमाडौँ तथा भूमि समस्या समाधान आयोग जिल्ला समिति धनुषाबाट प्राप्त पत्रका आधारमा उक्त कार्य अघि बढाइएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाद्वारा जारी पत्रअनुसार वडा नं. १ देखि २५ सम्मका सबै वडा कार्यालयहरूले तोकिएको ढाँचा बमोजिम सूचना अनिवार्य रूपमा प्रकाशन गर्नुपर्नेछ ।
साथै, प्रकाशित सूचनाको प्रत्येक पानामा हस्ताक्षर तथा प्रमाणिकरण गरी सोको छायाँकपी उपमहानगरपालिकामा वैशाख ३० गतेभित्र पठाउन अनुरोध गरिएको छ ।
उपमहानगरपालिकाका भूमि व्यवस्था शाखा प्रमुख रत्न कुमार साहका अनुसार यस अभियानले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको तथ्याङ्कलाई व्यवस्थित गर्दै आगामी व्यवस्थापन कार्यलाई सहज बनाउने लक्ष्य राखिएको छ ।
उपमहानगरपालिकाले यस कार्यलाई प्रभावकारी बनाउन सबै वडा कार्यालय र सम्बन्धित निकायलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


