जनकपुरधाम, ११ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले कर्मचारीहरूको कार्यालय उपस्थितिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कडाइ गरेको छ ।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै सबै कर्मचारीलाई बिहान ९ बजेभित्र अनिवार्य रूपमा कार्यालय उपस्थित भई हाजिरी जनाउन निर्देशन दिएको हो ।

सूचनामा कार्यालय समयलाई पूर्ण रूपमा पालना गर्नुपर्ने उल्लेख गर्दै कार्यालय समयमा व्यक्तिगत तथा निजी कामका लागि बाहिर नजानसमेत रोक लगाइएको छ ।

त्यस्तै, कार्यालयको दैनिक कार्य प्रवाहलाई व्यवस्थित बनाउन दिउँसो १ बजेदेखि २ बजेसम्मको खाजा समयलाई पनि शाखागत रूपमा पालो मिलाएर सेवा अवरुद्ध नहुने गरी सञ्चालन गर्न निर्देशन दिइएको छ । कर्मचारीहरूलाई साँझ ५ बजेसम्म नियमित रूपमा कार्यालयमा रही काम गर्न भनिएको छ ।

उपमहानगरपालिकाका अनुसार कार्यालय समयभन्दा बाहिर वा अतिरिक्त समयमा काम गर्नुपर्ने अवस्थामा सम्बन्धित कर्मचारीले शाखा प्रमुख, महाशाखा प्रमुख हुँदै प्रमुख प्रशासकीय अधिकृतबाट अनिवार्य अनुमति लिनुपर्नेछ ।

त्यसैगरी, खटिएर काम सम्पन्न भएपछि सम्बन्धित सुपरिवेक्षकलाई जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ ।

सूचनामा महाशाखा तथा शाखा प्रमुखहरूलाई कर्मचारी परिचालन, जिम्मेवारी अभिलेख, लगबुक भर्ने तथा नियमित प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेश गर्नसमेत निर्देशन दिइएको छ ।