जनकपुरधाम, ११ बैशाख । जनकपुर साहित्य महोत्सवको सातौँ संस्करण आगामी जेठ १ देखि ३ गतेसम्म जनकपुरधामस्थित निधि भवनमा आयोजना हुने भएको छ ।

नव मिथिला फाउन्डेसनले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महोत्सवको औपचारिक मिति घोषणा गरेको हो ।

यसअघि २०८२ सालको माघ २२ देखि २४ गतेसम्म महोत्सव गर्ने तयारी गरिएको भए पनि देशमा विकसित असामान्य परिस्थिति तथा प्रतिनिधिसभा निर्वाचनका कारण निर्धारित मिति परिवर्तन गर्नुपरेको आयोजकले जनाएको छ ।

तथापि, महोत्सवको निरन्तरता कायम राख्दै कार्यक्रम जेठमा आयोजना गर्न लागिएको फाउन्डेसनले स्पष्ट पारेको छ ।

फाउन्डेसनका अध्यक्ष अमित साहका अनुसार साहित्य, भाषा र संस्कृतिको प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

उनका अनुसार महोत्सवमा साहित्यिक तथा सांस्कृतिक पहिचानसँगै समसामयिक राजनीति, समाज, अर्थतन्त्र, सुशासन, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषयमासमेत छलफल हुने गरेको छ ।

उनले महोत्सवले स्थानीय प्रतिभालाई उजागर गर्ने मात्र नभई बाहिरी क्षेत्रका साहित्यकार तथा संस्कृतिकर्मीलाई जनकपुरधामसँग परिचित गराउने महत्वपूर्ण मञ्चको रूपमा काम गर्दै आएको बताए ।

महोत्सवलाई यस वर्ष पनि विविध विचार, सिर्जना र सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ ।