रौतहट, ११ बैशाख । रौतहट जिल्लाको गौर भन्सार क्षेत्रमा लागूऔषध ओसारपसारमा संलग्न एक युवक पक्राउ परेका छन् ।

अटो रिक्साको सिटमुनि लुकाएर ल्याउँदै गरिएको नशालु इन्जेक्सनसहित उनलाई नियन्त्रणमा लिइएको हो ।

शुक्रबार दिउँसो करिब १२ बजे सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गौर र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले चेकजाँचका क्रममा अटो रोकेर जाँच गर्दा लागूऔषध फेला पारेको जनाएको छ ।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका–७ मुडलवा निवासी २० वर्षीय मोहन पण्डित रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००३ ह १११० नम्बरको अटोमाथि शंका लागेपछि जाँच गर्दा चालकको सिटमुनि लुकाइएको अवस्थामा इन्जेक्सन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको इन्जेक्सनमा डाईजिपाम, प्रोमथाजिन हाइड्रोक्लोराइड र बुप्रेनोर्फिनका १००/१०० एम्पुल गरी जम्मा ३०० एम्पुल रहेका छन् ।

यसका साथै चालकको साथबाट ५ ग्राम गाँजा, नेपाली रुपैयाँ ४९०, भारतीय रुपैयाँ १०० र एक थान एन्ड्रोइड मोबाइल समेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बरामद सामग्रीसहित पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ ।