भन्सार नीतिले मधेशमा मार, यानद्वारा मधेशी आयोगको ध्यानाकर्षण

जनकपुरधाम, ११ बैशाख । मधेशमा लागू गरिएको भन्सार नीतिले सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर पारेको भन्दै युथ एसोसिएसन अफ नेपालले मधेशी आयोगमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
यानका अध्यक्ष राहुलराज यादवको नेतृत्वमा शुक्रबार बुझाइएको ज्ञापनपत्रमा १०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार लगाउने वर्तमान व्यवस्था अव्यवहारिक भएको उल्लेख गरिएको छ ।
बढ्दो महँगीका बीच यस्तो नीतिले गरिब, मजदुर, किसान तथा सीमान्तकृत समुदायलाई थप मारमा पारेको यानको दाबी छ ।
ज्ञापनपत्रमा मधेशको भौगोलिक, सामाजिक तथा आर्थिक अवस्था अन्य क्षेत्रभन्दा फरक रहेको उल्लेख गर्दै यहाँका नागरिकहरू वर्षौंदेखि सीमावर्ती भारतीय बजारमा निर्भर रहँदै आएको जनाइएको छ ।
यस्ता समुदायका लागि साना परिमाणका दैनिक उपभोग्य सामग्रीमासमेत भन्सार तिर्नुपर्ने बाध्यता अन्यायपूर्ण भएको संगठनले जनाएको छ ।
यानले मिथिला क्षेत्रको ‘रोटी–बेटी’ सम्बन्ध, विवाह, चाडपर्व तथा धार्मिक गतिविधिसँग जोडिएका सामानमासमेत कर लगाइनु सांस्कृतिक अधिकारमाथिको हस्तक्षेप भएको आरोप लगाएको छ । विशेषगरी दलित तथा विपन्न समुदायमाथि यसले गम्भीर असर पारिरहेको बताइएको छ ।
यस्तै, सीमाक्षेत्रमा सुरक्षाकर्मीबाट हुने कुटपिट, सामान जफत तथा दुर्व्यवहारका घटनाले अवस्था झन् जटिल बनेको भन्दै यानले मानवअधिकार उल्लंघनका घटनाप्रति गम्भीर ध्यान दिन माग गरेको छ ।
ज्ञापनपत्रमार्फत यानले मधेशी समुदायको अधिकार संरक्षणका लागि स्थापित मधेशी आयोगले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएको छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत आवश्यक पहल गरी नीतिगत सुधार गर्न माग गरिएको छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


