जनकपुरधाम, ११ बैशाख । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले कारबाहीमा परेर निलम्बन तथा बर्खास्त भएका आफ्ना ६ जना पूर्वकर्मचारीलाई सात दिनभित्र सरकारी कागजात तथा जिन्सी सामग्री बुझाउन निर्देशन दिएको छ ।

परिषद्का अध्यक्ष सितल साह पूर्वेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पटक पटकको ताकेता बेवास्ता गरिएको र महत्वपूर्ण कागजातहरू लुकाएर राखिएको आशंकामा ती कर्मचारीलाई तत्काल सम्पर्कमा आउन अल्टिमेटम दिएका हुन् ।

परिषद्का अनुसार वरिष्ठ प्रशासकीय अधिकृत चिरञ्जीवी ढुङ्गाना, कम्प्युटर अधिकृत कृष्ण मुरारी सिंह, अधिकृत जितेन्द्र कुमार यादव, लेखापाल सावित्री कुमारी गिरि, स्टोर किपर मदन कुमार चौधरी र नायब सुब्बा सञ्जय कुमार मण्डलले हालसम्म कार्यालयका कागजात तथा जिन्सी सामग्री बरबुझारथ गरेका छैनन् ।

उनीहरूमध्ये अधिकांशविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा विचाराधीन रहेको जनाइएको छ ।

अदालतले २०८२ चैत २ गते नै आवश्यक सक्कल कागजात झिकाउन आदेश दिइसकेको भए पनि सम्बन्धित कर्मचारीहरूले उक्त आदेश कार्यान्वयन नगरेको परिषद्को दाबी छ ।

अध्यक्ष पूर्वेलाई विशेष अदालतबाट वैशाख ८ गते प्राप्त पत्रको आधारमा सूचना जारी गरिएको जनाउँदै परिषद्ले तोकिएको समयसीमाभित्र कागजात बुझाएर भरपाई नलिए कडा कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ ।