दुई वर्षसम्म पनि अघि बढेन कमला पुल: ७ दिनभित्र काम सुरु नगरे आन्दोलन

जनकपुरधाम, १० बैशाख । धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा नयाँ पुल निर्माण कार्य लामो समयदेखि अघि नबढाइएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि चुलिएको छ ।
नयाँ कमला पुल निर्माण संघर्ष समितिले तत्काल प्रक्रिया सुरु गर्न माग गर्दै सात दिनको अल्टिमेटमसहित आन्दोलनको चेतावनी दिएको छ ।
समितिले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई स्मरणपत्र बुझाउँदै २०८१ भदौ ७ गते प्रदेश सरकारसँग भएको सहमति अहिलेसम्म कार्यान्वयन नभएको गुनासो गरेको छ ।
दुई वर्ष बित्न लाग्दा पनि पुल निर्माणको ठेक्का प्रक्रिया सुरु नगरिएको भन्दै जनतालाई भ्रममा राखिएको आरोप लगाइएको छ ।
स्मरणपत्रमा चालु आर्थिक वर्ष २०८२/८३ समाप्त हुन लाग्दासमेत निर्माण प्रक्रिया अघि नबढाइएको र जीर्ण अवस्थामा रहेको पुरानो पुलको प्रभावकारी मर्मतसमेत हुन नसकेको उल्लेख छ ।
केन्द्र सरकारबाट पटक पटक म्याद थपिँदा नागरिकमा अन्योल बढेको भन्दै समितिले आपत्ति जनाएको छ ।
समितिका अनुसार हाल प्रस्तावित पुलको डिजाइनमै त्रुटि रहेको र सम्बन्धित बाँध निर्माणको ठेक्का प्रक्रियासमेत अघि नबढेकाले भविष्यमा समस्या झन् जटिल बन्न सक्ने चेतावनी दिइएको छ ।
स्मरणपत्र बुझ्दै मुख्यमन्त्री यादवले पुल निर्माणका लागि प्रदेश सरकारले पटक पटक पहल गरेको र बजेटसमेत विनियोजन गरिएको भए पनि प्रक्रिया अघि बढ्न नसकेको स्वीकार गरे ।
उनले उक्त परियोजना संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने भएकाले आवश्यक पहलका लागि संघ सरकारसँग समन्वय गर्ने प्रतिबद्धता जनाए ।
यता, संघर्ष समितिले सात दिनभित्र ठेक्का प्रक्रिया अघि नबढाइए कडा आन्दोलनमा उत्रिने घोषणा गरेको छ ।
आन्दोलनका कार्यक्रमअन्तर्गत अनसन, चक्काजाम तथा सडक अवरोधजस्ता गतिविधि सञ्चालन गरिने चेतावनी दिँदै त्यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


