सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

जनकपुरधाम, १० बैशाख । सरकारी विज्ञापन वितरणसम्बन्धी नयाँ नीतिप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघ धनुषा शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिने निर्णयसहित जारी गरेको परिपत्रविरुद्ध महासंघले देशव्यापी आन्दोलन कार्यक्रमअन्तर्गत धनुषामा पनि विरोध जनाएको हो ।
महासंघको केन्द्रीय परिपत्रअनुसार पत्रकार महासंघका धनुषा जिल्ला अध्यक्ष पुरन साहको नेतृत्वमा गएको पत्रकारहरूको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेललाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।
ज्ञापनपत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सचिवस्तरमा जारी गरिएको परिपत्रप्रति गम्भीर आपत्ति जनाइएको छ । उक्त परिपत्रमार्फत संघीय मन्त्रालय, आयोग, सचिवालय तथा प्रदेश र स्थानीय तहलाई सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएको छ ।
महासंघले उक्त निर्णयलाई प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष हस्तक्षेप भनेको छ । विज्ञापन क्षेत्रमा देखिएका अनियमितता नियन्त्रण गर्ने प्रयास सकारात्मक भए पनि त्यसकै नाममा विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा सीमित गर्नु संविधान, प्रचलित कानुन, खुला बजार अर्थतन्त्र तथा संघीयताको मर्मविपरीत हुने महासंघको भनाइ छ ।
महासंघका अनुसार यस्तो नीतिले निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर पार्ने र स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने खतरा बढाउनेछ । साथै देशभर सञ्चालनमा रहेका सयौं रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमको आर्थिक आधार कमजोर हुने र हजारौं सञ्चारकर्मीको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ ।
महासंघले विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, समावेशी र समानुपातिक बनाउन माग गर्दै संविधानविपरीतका निर्देशन कार्यान्वयन नगर्न प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेको छ ।
माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी पनि महासंघले दिएको छ ।
ज्ञापनपत्र बुझाउने टोलीमा महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, धनुषा अध्यक्ष पुरन साह, उपाध्यक्ष अवधेश कामत, वरिष्ठ पत्रकार रामभरत साह, संजय साहलगायत सहभागी थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


